विवाहेतर सम्बन्धमा फसेका प्रहरी जवान चौरसियाको प्रेमिकाकै अगाडि कुटिकुटी हत्या

वीरगन्ज— पर्साको कालिकामाई गाउँपालिका–१ मुडली घर भई जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी जवान २८ वर्षीय विकाश चौरसियाको हत्या ‘विवाहेत्तर सम्वन्ध’का कारण भएको खुलेको छ। परस्त्रिसँगको सम्वन्धका कारण उत्पन्न विवादले चौरसियाले ज्यान गुमाएको पर्सा प्रहरीको भनाई छ।

चौरसियाको आइतबार साँझ वीरगन्ज–११ रानीघाटस्थित एक घरभित्र कुटपिट गरी हत्या गरिएको थियो। घटनास्थल भारतीय महावाणिज्य दूतावास पछाडि फिरोज मियाँको घर रहेको प्रहरीले जनाएको छ।

प्रहरी अनुसन्धान अनुसार रौतहटको माधवनारायण नगरपालिका–१ निवासी २६ वर्षीय सन्तोष साहकी पत्नी २४ वर्षीया सोनी कुमारी साहसँग चौरसियाको सम्बन्ध रहेको आशंकाले घटनालाई हिंसात्मक मोड दिएको हो। सोही घरमा डेरा गरी बस्दै आएका उनीहरूको कोठामा पुगेका चौरसियामाथि योजनाबद्ध रूपमा आक्रमण गरिएको देखिन्छ।

घटनामा संलग्न सन्तोष, उनकी पत्नी सोनी, सन्तोषका नातामा पर्ने बाराको महागढीमाई नगरपालिका–७ निवासी १९ वर्षीय विशाल साह र भारत उत्तर प्रदेश अलीगढका २१ वर्षीय ओमवीर प्रजापतिलाई प्रहरीले पक्राउ गरेको छ।

घटनापछि प्रहरी टोली तत्कालै परिचालित भई चारै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानले विवाहेतर सम्बन्धको आशंका थाहा पाएपछि सन्तोष साहले योजनाबद्ध रूपमा आक्रमणको तयारी गरेको देखाएको छ।

अनुसन्धान विवरण अनुसार उनले आफ्ना नातामा पर्ने विशाल साह र साथी ओमवीरलाई पहिले नै कोठामा बोलाएर राखेका थिए। त्यसपछि पत्नी सोनीलाई फोन गर्न लगाएर चौरसियालाई कोठामा बोलाइए। त्यसपछि कोठामा ठुलो आवाजमा म्युजिक बजाएर रड प्रहार गरी निर्घात कुटपिट गरिएको थियो।

गम्भीर रूपमा घाइते भएका चौरसियालाई तत्काल अस्पताल पु¥याउने प्रयास गरिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका एसपी सुदीपराज पाठकका अनुसार प्रारम्भिक अनुसन्धानले यो हत्या विवाहेतर सम्बन्धसँग जोडिएको स्पष्ट संकेत दिएको छ। उनले भने, ‘अहिलेसम्मको अनुसन्धानले व्यक्तिगत सम्बन्धको विवादकै कारण हत्या भएको देखाएको छ, थप अनुसन्धान जारी छ।’

प्रहरीले घटनाको सम्पूर्ण पाटो बुझ्न थप अनुसन्धान अघि बढाएको जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट