भारतीय प्रेमीसँग मिलेर स्वदेशी प्रेमीको हत्या, साथ दिने आमाबुबा पनि पक्राउ, भारतीय प्रेमी फरार

काठमाडौँ– कैलालीमा त्रिकोणात्मक प्रेम, विश्वासघात र योजनाबद्ध हिंसाको जालमा फसेर २० वर्षीय राजकुमार रानाले ज्यान गुमाउनुपरेको घट्ना प्रहरीले सार्वजनिक गरेको छ।

कैलारी गाउँपालिका–९ गदरियाका राजकुमार रानाको शव जेठ २४ गते धनगढी उपमहानगरपालिका–९ स्थित त्रिवेणी घाट नजिक मोहना नदी किनारमा फेला परेको थियो। सुरुमा रहस्यमय देखिएको घटनाले अनुसन्धानको क्रममा नयाँ मोड लिएको छ। प्रहरीले हत्या आरोपमा एकै परिवारका तीन जनालाई पक्राउ गरेपछि घटनाको पृष्ठभूमि खुल्दै गएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ का ६० वर्षीय बम्मन राना, उनकी ५८ वर्षीया श्रीमती भंगु राना र २० वर्षीया छोरी गीता राना छन्। घटनामा संलग्न भनिएका एक भारतीय युवक भने अझै फरार छन् र उनको खोजी जारी छ।

प्रहरी अनुसन्धानअनुसार गीता राना सुरुमा भारतीय युवकसँग प्रेम सम्बन्धमा थिइन्। पछि सम्बन्धमा दूरी बढेपछि उनी राजकुमारसँग नजिकिएकी थिइन्। दुवैबीचको सम्बन्ध विवाहको तयारीसम्म पुगेको थियो। तर त्यसपछि पुनः भारतीय युवक गीताको सम्पर्कमा आए। यही अवस्थाले त्रिकोणात्मक प्रेम सम्बन्धको रूप लिएको र अन्ततः घातक परिणाम निम्तिएको प्रहरीको निष्कर्ष छ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार गितासँग आफनो दुरी वढेपछि राजकुमार नजिकिएको थाहा पाएपछि भारतीय युवकले उनलाई हटाउने योजना बनाएका थिए। उक्त योजना गीता र उनको परिवारलाई समेत जानकारी गराइएको थियो। त्यसपछि सबैबीच सहमति बनेर राजकुमारको हत्या भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घटनाको दिन गीताले नै राजकुमारलाई भेट्ने बहानामा साँझ आफ्नो घरमा बोलाएकी थिइन्। त्यतिबेला भारतीय युवक पनि त्यही घरमा उपस्थित थिए। राजकुमार त्यहाँ पुगेलगत्तै चार जनाले मिलेर उनीमाथि निर्घात कुटपिट गरेको अनुसन्धानबाट खुलेको छ।

कुटपिटका क्रममा राजकुमारको घटनास्थलमै मृत्यु भएको प्रहरीको दाबी छ। त्यसपछि शव लुकाउन चारै जनाले मिलेर मृत शरीर घरबाट करिब डेढ किलोमिटर टाढा रहेको मोहना नदी किनारमा पु¥याएर फालेको अनुसन्धानबाट खुलेको छ।

घटनापछि गीता र उनका प्रेमी भारततर्फ भागेको प्रहरीले जनाएको छ। भारतीय प्रहरीको सहयोगमा गीतालाई पक्राउ गरी बुधबार बिहान कैलाली ल्याइएको छ। यद्यपि घटनाका मुख्य योजनाकार मानिएका भारतीय युवक भने अझै फरार छन्। उनको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार पक्राउ परेकामाथि कर्तव्य ज्यान मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको छ। गीताका बाबुआमाविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ भने गीतालाई पनि कानुनी प्रक्रियाअनुसार अदालत उपस्थित गराउने तयारी गरिएको छ।

मोहना नदी किनारमा फेला परेको एउटा शवबाट सुरु भएको अनुसन्धान अहिले योजनाबद्ध हत्या, पारिवारिक संलग्नता र सीमापार सम्बन्धसम्म पुगेर जोडिएको छ। फरार भारतीय युवक पक्राउ नपर्दासम्म घटनाका थप पाटा खुल्ने क्रम जारी रहने प्रहरीको विश्वास छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट