‘आई लभ यू अनिता, अब स्वर्गमै भेटौँला’ भन्दै सुसाईड नोट लेखेर फरार भएका अभियुक्त ६ वर्षपछि पक्राउ
लहान— सिरहामा एक महिलाको बलात्कार र हत्या प्रकरणमा आफूले अपराध गरेको स्वीकार्दै ‘आई लभ यू अनिता, अब स्वर्गमै भेटौँला’ भन्ने भावनात्मक सन्देशसहित सुसाईड नोट लेखेर बेपत्ता भएका अभियुक्त अन्ततः ६ वर्षपछि पक्राउ परेका छन्।
सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–५ मा ०७६ सालमा भएको चर्चित बलात्कार तथा हत्या प्रकरणका मुख्य अभियुक्त वीरेन्द्रकुमार यादवलाई लामो खोजी र निगरानीपछि प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय महेशपुर पतारको संयुक्त टोलीले फरार अभियुक्त यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार उनी वर्षौंदेखि कहिले भारत जाने, कहिले गाउँमै लुकीछिपी बस्ने गर्दै पक्राउबाट जोगिँदै आएका थिए। पुराना पेन्डिङ मुद्दाहरूको पुनः अनुसन्धान गर्ने क्रममा उनी गाउँमै रहेको सूचना पाएपछि विशेष निगरानीमार्फत पक्राउ गरिएको हो।
घटना २०७६ कात्तिक २१ गते सार्वजनिक भएको थियो। दिउँसो करिब साढे दुई बजे लक्ष्मीपुर पतारी–५ स्थित स्थानीय रामआशिष यादवको खेतमा एक महिलाको शव फेला परेको थियो। मृतक सिरहाको बरियारपट्टी गाउँपालिका–५ निवासी अनितादेवी सदाय थिइन्।
घटनाको अनुसन्धानका क्रममा प्रहरीसमक्ष यसअघि नै गम्भीर आरोप पुगेको थियो। अनितादेवीले २०७६ असोज ३० गते राति आफ्नै घरमा सुतिरहेका बेला वीरेन्द्रकुमार यादवले धारिलो हतियार देखाएर जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीपछि यादव प्रहरीको खोजी सूचीमा थिए।
घटनापछि कात्तिक २६ गते राति यादव आफ्नै कोठामा विष सेवन गरेको अवस्थामा भेटिएका थिए। प्रहरीले उनलाई उद्धार गरेर अस्पताल पु¥याएको थियो। तर उपचारपछि उनी सम्पर्कविहीन बनेका थिए र त्यसयता फरार थिए।
त्यसबेला प्रहरीले यादवको कोठामा खानतलासी गर्दा घटनासँग जोडिएका महत्वपूर्ण प्रमाणहरू फेला पारेको थियो। मृतक अनितादेवीले प्रयोग गर्ने मोबाइल फोन, घाँटी कसेर हत्या गर्न प्रयोग भएको भनिएको तामाको नांगो तार तथा अन्य सामग्री बरामद भएका थिए।
सबैभन्दा महत्वपूर्ण प्रमाण भने यादवले लेखेको सुसाईड नोट थियो। उक्त नोटमा उनले अनितादेवीको हत्या आफूले गरेको स्वीकार गर्दै पश्चातापका कारण आफूले पनि आत्महत्या गर्न लागेको उल्लेख गरेका थिए।
घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतका अनुसार नोटमा लेखिएको थियो, ‘तिमीले बलात्कारको उजुरी प्रहरीमा दिन नहुने, त्यही भएर बाध्य भएर मैले मार्नैप¥यो। अब म पनि बाँचेर काम छैन। अब स्वर्गमै भेटौँला। आई लभ यू अनिता।’
त्यो नोट सार्वजनिक भएपछि घटनाले व्यापक चर्चा पाएको थियो। एकातिर बलात्कारको आरोप, अर्कोतिर हत्या स्वीकारिएको पत्र र त्यसपछि अभियुक्त स्वयं विष सेवन गरेको अवस्थामा भेटिनुले यो प्रकरणलाई सिरहाको चर्चित अपराध घटनामध्ये एक बनाएको थियो। तर विष सेवनपछि अस्पताल पुगेका यादव बाच्न सफल भए र त्यसपछि फरार भएका थिए।
प्रहरीका अनुसार उनी सीमावर्ती क्षेत्र हुँदै भारत जाने र पुनः नेपाल फर्केर विभिन्न ठाउँमा लुक्ने गर्दै आएका थिए। यद्यपि पछिल्लो समय उनी गाउँ आसपासमै बसिरहेको सूचना प्राप्त भएपछि विशेष टोली परिचालन गरिएको थियो।
सिरहाका एसपी वासुदेव पाठकका अनुसार पक्राउ परेका यादवमाथि थप अनुसन्धान भइरहेको छ। उनलाई इलाका प्रहरी कार्यालय महेशपुर पतारमा राखेर आवश्यक बयान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ।
छ वर्षसम्म प्रहरीलाई छल्दै हिँडेका यादवको पक्राउसँगै अनितादेवी सदाय हत्या प्रकरणले फेरि चर्चा पाएको छ। अब अनुसन्धानको बाँकी प्रक्रिया र अदालतको निर्णयले पीडित परिवारले लामो समयदेखि खोजिरहेको न्यायको ढोका खुल्ने अपेक्षा गरिएको छ।
सिरहामा पछिल्लो समय वर्षौंदेखि अलपत्र रहेका गम्भीर अपराधका मुद्दाहरू पुनः सक्रिय रूपमा अनुसन्धान गर्न थालिएको छ। यसअघि पनि इलाका प्रहरी कार्यालय महेशपुर पतारका प्रहरी निरीक्षक विशाल मल्ल नेतृत्वको टोलीले चर्चित आनन्दीदेवी सदाय प्रकरणका फरार अभियुक्तहरूलाई भारतको गुजरातबाट पक्राउ गरी नेपाल ल्याएको थियो।

