मिडिया हाउसको गेटमा ‘गाडीको घेराबन्दी’: के हो बेवारिसे गाडीको रहस्य, प्रेस स्वतन्त्रतामाथि दबाब कि सुनियोजित सन्देश?
काठमाडौँ– काठमाडौँमा सोमबार बिहान एउटा अस्वाभाविक दृश्य देखियो। सामान्यतया समाचार संकलनका लागि बिहानैदेखि दौडधुपमा रहने पत्रकारहरू आफ्नै कार्यालयको गेटभित्र थुनिएजस्तै बने। रिपोर्टिङमा निस्कनुपर्ने सवारी साधनहरू कार्यालय परिसरमै रोकिए। कारण थियो– राजधानीका प्रमुख सञ्चारगृहहरूको मुख्य प्रवेशद्वारमै शंकास्पद ढंगले पार्किङ गरिएका गाडीहरू।
तीनकुनेस्थित कान्तिपुर पब्लिकेशन, नयाँ बानेश्वरस्थित अनलाइनखबर र मध्यबानेश्वरस्थित हिमालय टेलिभिजनको मूल गेट अगाडि राखिएका ती गाडी कुनै सामान्य पार्किङका घटना थिएनन्। चालक सम्पर्कविहीन थिए, गाडीहरू त्यस्तो स्थानमा राखिएका थिए जहाँबाट सञ्चारगृहको नियमित गतिविधि प्रभावित हुन्थ्यो, र घटना एकै समयमा विभिन्न मिडिया हाउसमा दोहोरिएको थियो। त्यसैले प्रश्न उठ्यो– यो केवल संयोग थियो कि सञ्चारमाध्यमलाई लक्षित गरिएको कुनै सुनियोजित सन्देश ?
सोमबार बिहान करिब साढे सात बजेदेखि विभिन्न सञ्चारगृहका कर्मचारी र पत्रकारहरूले गेट अगाडि तेस्र्याइएका गाडी देखे। गाडीको अवस्थाले कार्यालयभित्रका सवारी साधन बाहिर निकाल्न र बाहिरबाट भित्र प्रवेश गर्न कठिन बनाएको थियो। विशेष गरी कान्तिपुर परिसरमा रिपोर्टिङका लागि तयारी अवस्थामा रहेका सवारी साधन र प्रसारण कार्यमा प्रयोग हुने गाडीहरू प्रभावित भएका थिए।
घटनाको जानकारी पाएपछि ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली घटनास्थल पुगेको थियो। प्रारम्भिक रूपमा गाडीधनीको खोजी गरिए पनि कुनै चालक वा सम्बन्धित व्यक्ति सम्पर्कमा आएनन्। त्यसपछि प्रहरीले केही गाडीमा ‘ह्विल लक’ लगायो र अन्ततः क्रेनको प्रयोग गरी सबै गाडी हटायो।
प्रहरीले नियन्त्रणमा लिएका ती गाडीहरूको स्वामित्वबारे अनुसन्धान अघि बढाउँदा रोचक तथ्यहरू बाहिर आए। यातायात व्यवस्था विभागको अभिलेखअनुसार कान्तिपुर पब्लिकेशनको कार्यालय अगाडि पार्किङ गरिएको बा. प्रदेश–०१–०३४ च ८४८० नम्बरको महँगो ‘जेको जे–सिक्स’ गाडी सानिमा बैंकसँग जोडिएको देखियो। अनुसन्धानबाट उक्त गाडी पायोनियर मोटोकर्प प्रालिले एसटी मोटर्सका लागि सानिमा विकास बैंकमार्फत ऋणमा उपलब्ध गराएको खुलेको छ।
अनलाइनखबरको मुख्य गेट अवरुद्ध पार्ने बा १२ च ८५४५ नम्बरको ह्युन्डाई ग्राण्ड आई–१० भने हाल सुनिल पौडेलको नाममा रहेको देखिएको छ। विभागीय अभिलेखअनुसार उक्त सवारी २०८३ असार १२ गते श्रेयण शाहीको नामबाट सुनिल पौडेलको नाममा नामसारी भएको थियो।
त्यस्तै हिमालय टेलिभिजन अगाडि राखिएको बा १० च १२५५ नम्बरको कोसुन्डा गाडीको स्वामित्व इतिहास पनि रोचक छ। अभिलेखअनुसार उक्त गाडी २०७६ जेठ १६ गतेसम्म राजीब काजी श्रेष्ठको नाममा थियो। त्यसपछि गाडी डीआर अटोमोटिभ्सलाई बिक्री गरिएको देखिन्छ।
यद्यपि गाडीको स्वामित्व खुल्दै जाँदा पनि सबैभन्दा महत्वपूर्ण प्रश्नको उत्तर अझै भेटिएको छैन— यी गाडीहरू वास्तवमा कसले त्यहाँ पु¥यायो र किन पु¥यायो ? प्रहरीले अहिले त्यही प्रश्नको उत्तर खोजिरहेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार विभिन्न सञ्चारगृहबाट बेवारिसे अवस्थामा गाडी छोडिएको सूचना आएपछि अनुसन्धान थालिएको हो। उनका अनुसार कान्तिपुर, अनलाइनखबर, हिमालय टेलिभिजनसहित पाँचदेखि सात स्थानबाट यस्ता सूचनाहरू प्राप्त भएका थिए।
घटनाले थप शंका जन्माउनुको अर्को कारण यसको क्रमिक विस्तार हो। सोमबार मात्र होइन, करिब दुई साताअघि बाह्रखरी डटकमको कार्यालय अगाडि पनि यस्तै प्रकृतिको गाडी पार्किङ गरिएको थियो। त्यसबेला ट्राफिक प्रहरीले ह्विल लक लगाएपछि पनि गाडीधनी लामो समय सम्पर्कमा नआएको र अन्ततः प्रहरीले सवारी नियन्त्रणमा लिएर लगेको थियो। यसपटक भने घटना एकै दिन अनेक मिडिया हाउसमा दोहोरियो। त्यसैले यसलाई सामान्य ट्राफिक अव्यवस्था वा लापरबाहीका रूपमा मात्र हेर्न धेरैलाई कठिन भएको छ।
नेपाल पत्रकार महासंघले घटनालाई ‘निन्दनीय’ र ‘रहस्यमय’ भन्दै तत्काल छानबिनको माग गरेको छ। महासंघले सञ्चारमाध्यमको कार्यालयको गेटमै गाडी पार्किङ गरेर पत्रकारलाई सञ्चारकर्ममा जान अवरोध सिर्जना गरिएको र त्रास फैलाउने प्रयास भएको निष्कर्ष निकालेको छ।
महासंघ अध्यक्ष निर्मला शर्मासहितको टोलीले प्रभावित सञ्चारगृहहरूको स्थलगत निरीक्षणसमेत गरेको थियो। निरीक्षणपछि शर्माले सञ्चारमाध्यम र पत्रकारलाई भयभीत बनाउने उद्देश्यले घटना भएको आशंका व्यक्त गर्दै सरकारलाई यस विषयमा गम्भीर बन्न आग्रह गरिन्। उनले सञ्चारकर्मीलाई सुरक्षित वातावरणमा काम गर्ने संवैधानिक अधिकार सुनिश्चित गर्न राज्य जिम्मेवार हुनुपर्ने बताइन्।
अनलाइनखबरका प्रधान सम्पादक बसन्त बस्नेतले पनि पत्रकारहरूलाई निर्भय रूपमा काम गर्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। घटनाले राजनीतिक प्रतिक्रिया पनि जन्माएको छ। नेकपा एमालेले विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमको मूल गेटमै गाडी तेस्र्याएर पत्रकारहरूको आवतजावत रोक्नु लोकतन्त्र र प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार भएको टिप्पणी गरेको छ। एमालेले नेपाल पत्रकार महासंघले उठाएका मागहरूलाई पूर्ण समर्थन गर्ने जनाएको छ।
पार्टीले स्वतन्त्र रूपमा समाचार संकलन र सम्प्रेषण गर्न पाउने संवैधानिक अधिकारको सम्मान हुनुपर्ने उल्लेख गर्दै सञ्चारगृहलाई लक्षित गरी भएको यस्तो गतिविधिको निष्पक्ष छानबिन गर्न माग गरेको छ।
घटनाको अर्को रोचक पक्ष अनामनगरस्थित भाटभटेनी सुपरमार्केट बाहिर पनि शंकास्पद रूपमा गाडी छोडिएको विवरण सार्वजनिक हुनु हो। प्रहरीले मिडिया हाउसहरूबाहिर रहेका गाडीहरू क्रेन प्रयोग गरेर हटाएको थियो भने भाटभटेनी अगाडि रहेको गाडी साँचो प्रयोग गरेर चलाएर नियन्त्रणमा लिएको जनाएको छ। यसले अनुसन्धानको दायरा केवल सञ्चारगृहसम्म सीमित नरहेको संकेत गर्छ।
यद्यपि घटनाको वास्तविक उद्देश्यबारे अझै कुनै आधिकारिक निष्कर्ष आएको छैन। केही सञ्चारकर्मीहरूले पछिल्लो समय सुकुम्बासी होल्डिङ सेन्टरको व्यवस्थापन, आत्मदाह गरेका गणेश नेपालीको मृत्यु र अन्य संवेदनशील विषयमा प्रकाशित समाचारपछि केही समूह असन्तुष्ट बनेको हुन सक्ने आशंका व्यक्त गरेका छन्। तर त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण अहिलेसम्म सार्वजनिक भएको छैन।
यसबीच एउटा प्रश्न भने थप गम्भीर बनेर उभिएको छ— यदि राजधानीका प्रमुख सञ्चारगृहहरूको मुख्य गेटमै एकै समयमा शंकास्पद ढंगले सवारी साधन राखेर पत्रकारहरूको दैनिक कामकाज प्रभावित गर्न सकिन्छ भने प्रेस स्वतन्त्रताको व्यावहारिक सुरक्षा कति बलियो छ ?
अहिलेसम्मको अनुसन्धानले गाडीहरूको स्वामित्व पहिचान गरिसकेको छ। तर गाडी कसले राख्यो, कसको निर्देशनमा राखियो, किन सञ्चारगृहहरू नै रोजिए, र यसका पछाडि कुनै संगठित योजना थियो कि थिएन भन्ने प्रश्नको उत्तर अझै अन्धकारमै छ। त्यसैले यो घटना केवल ट्राफिक नियम उल्लंघनको विषय रहेन। अनुसन्धानले स्पष्ट नपारुन्जेल यसले प्रेस स्वतन्त्रता, सञ्चारमाध्यममाथिको दबाब, राज्यको सुरक्षा संयन्त्रको सतर्कता र लोकतान्त्रिक अभ्यासको अवस्थाबारे गम्भीर बहस जन्माइरहनेछ।

