विपक्षी खेलाडीलाई थप्पड हानेपछि मेसीलाई एमएलएसको जरिवाना
काठमाडौँ– इन्टर मायामीका अर्जेन्टिनी स्टार लियोनल मेसीलाई मेजर लिग सकर (एमएलएस) ले विपक्षी खेलाडी क्विन सुलिभानको टाउको तथा घाँटीमा हात पुर्याएको घटनामा जरिवाना गरेको छ। अगस्ट १९ मा फिलाडेल्फिया युनियनसँग २–२ को बराबरी भएको खेलको इन्जुरी समयमा भएको घटनाका लागि एमएलएसको अनुशासन समितिले जरिवाना तोके पनि रकम भने सार्वजनिक गरेको छैन।
खेलको १०१औँ मिनेटमा मैदानको अर्को भागमा बल चलिरहेका बेला मेसी र फिलाडेल्फियाका क्विन सुलिभानबीच भनाभन भएको थियो। सुलिभानले आफूलाई कुहिनोले प्रहार गरेको भन्दै मेसीले असन्तुष्टि जनाइरहेका बेला उनले सुलिभानको टाउकोको पछाडिपट्टि हातले प्रहार गरेका थिए। रेफ्री फिलिप डुजिकले तत्काल दुवै खेलाडीलाई अलग गरे पनि मेसी वा सुलिभानलाई उक्त घटनामा कार्ड देखाइएको थिएन।
एमएलएसले मेसीमाथि ‘प्रतिद्वन्द्वीको अनुहार, टाउको वा घाँटीमा हात पु¥याउने’ सम्बन्धी लिगको नीति उल्लंघन गरेको ठहर गर्दै आर्थिक कारबाही गरेको हो। उक्त खेलमा मेसीले इन्टर मायामीका लागि एक गोलसमेत गरेका थिए। यो उनका पिता जर्ज मेसीको निधनपछि पहिलो गोल थियो। जर्ज मेसीको ६८ वर्षको उमेरमा लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका बेला निधन भएको थियो। मेसीले उक्त खेलमा गोलसँगै असिस्टसमेत गरेका थिए।
तर खेलको विवाद मेसीमा मात्र सीमित रहेन। इन्टर मायामीकै डिफेन्डर इयान फ्रेलाई पनि छुट्टै घटनामा एमएलएसले जरिवाना गरेको छ। सुलिभान र फ्रेबीच मैदानमा धकेलाधकेल भएपछि फ्रेले सुलिभानको घाँटीमा हात लगाएका थिए। सोही घटनामा सुलिभानले फ्रेलाई नियन्त्रणमा लिन खोज्दै प्रतिक्रिया जनाएका थिए। फ्रेमाथिको कारबाही पनि रकम नखुलाइएको जरिवानामै सीमित गरिएको छ।
खेलको अन्तिम क्षणमा विवाद थप चर्किएपछि फिलाडेल्फियाका क्विनका भाइ तथा सहकर्मी काभान सुलिभान र इन्टर मायामीका यानिक ब्राइटलाई रेफ्रीले रातो कार्ड देखाएका थिए। काभानमाथि लगाइएको एक खेलको निलम्बन र जरिवाना भने स्वतन्त्र समीक्षा प्यानलले अपिलपछि रद्द गरेको छ। त्यससँगै उनी फिलाडेल्फियाको अर्को खेलमा उपलब्ध हुने भएका छन्।
काभानको अपिलमाथि निर्णय गर्ने तीन सदस्यीय स्वतन्त्र प्यानलमा यूएस सकर फेडेरेसन, क्यानडा सकर र व्यावसायिक रेफ्री संगठन (Professional Referee Organization) का प्रतिनिधि सहभागी थिए।
एमएलएसमा आबद्ध भएपछि मेसीले पाएको यो दोस्रो आर्थिक कारबाही हो। यसअघि फेब्रुअरी २०२५ मा न्युयोर्क सिटी एफसीका सहायक प्रशिक्षक मेहदी बलौचीसँगको खेलपछिको विवादमा उनलाई कारबाही गरिएको थियो। त्यस घटनामा मेसीले सहायक प्रशिक्षकको घाँटी समातेका थिए।
फिलाडेल्फियासँगको बराबरीपछि इन्टर मायामी शीर्ष स्थानमा रहेको न्यासभिलभन्दा सात अंक पछाडि छ। पछिल्लो खेलको गोलसँगै व्यक्तिगत रूपमा भावनात्मक अवस्थामा रहेका मेसीले मैदानमा प्रदर्शन गरे पनि खेलपछिको अनुशासनसम्बन्धी विवादका कारण लिगको कारबाहीमा परेका हुन्।

