पति र सन्तानको उज्वल भविष्यको कामना गर्दै मनाईदैछ जितिया पर्व

राजविराज– सन्तान तथा पतिको सुख, शान्ति र समृद्धिको कामना गर्दै थारूलगायतका मैथिल महिलाहरुले हरेक वर्ष मनाउने जितिया पर्व आजदेखि सुरु भएको छ ।

आश्विन कृष्णपक्षको सप्तमीदेखि नवमीसम्म मनाईने यस पर्वमा विशेष गरी विवाहित महिलाहरुले निराहार व्रत बसी परिवार र सन्तानको सुखशान्तिका लागि कामना गर्छन । जितियामा सुर्यलाई ‘जितमहान भगवान’ का रुपमा पुजा गरीन्छ ।

तराईमा बसोबास गर्ने विशेष गरी थारु महिलाहरुले संस्कृतिक पर्वका रुपमा जितिया मनाउँछन् । यस अवसरमा विवाह गरी गएका चेलीलाई अनिवार्य रूपमा माइत बोलाउने गरिन्छ ।

यस व्रतको प्रभावले आफना सन्तान हरेक क्षेत्रमा सफल हुने तथा दिर्घायु हुने विश्वास गरीन्छ । पहिलो दिन ‘नहा, खा’ (नुहाएर खानु) विधि अनुसार पर्वको सुरुवात भएको छ। यस दिन महिलाहरुले घिरौलाको पातमा भगवान् जितमाहन र दिंवगत पितृलाई प्रसाद (पिना, सख्खर र तोरीको तेल) चढाइ पुजा गर्ने र कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ । जसलाई ‘माछ मरुवा’ भनिन्छ।

मंगलवार बिहान काग कराउनुभन्दा पहिल्यै व्रतालुले ‘ओठगन’ (खानेकुरा ओठमा लगाउनु) सम्पन्न गर्नु पर्ने मान्यता छ । प्रायःजसो महिलाले ओठ गनमा दहीच्युरा खाने गरेको पाइन्छ।

त्यसपश्चात महिलाहरुले कठोर व्रत वस्छन् । २४ घण्टासम्म पानी पनी नखाई उपवास वस्ने यस व्रतमा थुक पनि निल्न नहुने मान्यता छ । उपवास बसेका दिन महिलाहरुले डकार गरे, खकार निले वा जिव्रो टोके व्रत असफल भएको मानिन्छ। उपवासको समयमा ‘जितमहान भगवान’ को कथा सुन्ने र नाचगान गर्ने गरिन्छ ।

पर्वको तेश्रो दिन अर्थात वुधवार बिहान व्रतालुले जलासयमा गएर स्नान गरी घिरौँलाको पातमा तेल लगाई त्यसमाथि अघ्र्य दिने र सोहि तेल आफना सन्तानका कपालमा लगाइदिने चलन छ । यसपछि सबैलाई दही, चिउरा र फलफूल खान दिएर व्रतालुले पनि व्रत समापन गर्ने चलन रहेको थारु संस्कृति संरक्षणमा लागेका अभियान्ता गयानन्द चौधरी बताउँछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट