२२ प्रतिशत भौतिक प्रगति भएको त्रिशुली १ जलविद्युत आयोजनाको आज शिलान्याश

काठमाण्डौं– कोरियन कम्पनीको प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माण हुने २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मंगलवार आयोजनाको शिलान्यास गरेका हुन् । रसुवाको आमाछोदिङमो गाउँपालिका–१ हाकुमा बाँधलगायतका संरचना र उत्तरगया गाउँपालिका–१ मा भूमिगत विद्युत्गृह लगायतका संरचना निर्माणाधीन छन् ।
आयोजनाको निर्माण कार्य गत ०७८ पुसदेखि सुरु गरिएको थियो । भूमिगत विद्युतगृह, मुख्य सुरुङ, बाँध लगायतका सम्पूर्ण संरचनाहरुको निर्माण भइरहेको छ । आयोजनाको बाँध वर्षायाम सकिएपछि निर्माण सुरु गरिने जनाईएको छ ।
आयोजनाको समग्र भौतिक प्रगति २२ प्रतिशत रहेको छ । आयोजना निर्माणमा हाल करिब एक हजार श्रमिक परिचालित छन् । आयोजना निर्माणका लागि इन्जिनियरिङ, खरिद र निर्माण मोडलमा कोरियन कम्पनी डुसान एनबेलेटीले काम गरिरहेको छ ।
आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीमा कोरियन सरकारको स्वामित्वमा रहेको कोएन, विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम लगायतको सेयर लगानी छ । आयोजनाका लागि ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको जनाईएको छ ।
कुल अनुमानित लागत ६४ करोड ७३ लाख अमेरिकी डलर (निर्माण अवधिको ब्याजसहित) रहेको आयोजनामा नौ अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले ४५ करोड ३२ लाख अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेका छन् । बाँकी रकम स्वपूँजी (इक्विटी)बाट जुटाइएको छ ।
आयोजनाबाट वार्षिक रुपमा एक अर्ब ५३ करोड ३१ लाख युनिट ऊर्जा उत्पादन हुने छ । आयोजनाको निर्माण काम ०८३ मङ्सिरभित्र सक्ने लक्ष्य राखिएको छ ।