हेटौंडाको घट्ना नसेलाउँदै सुन्दरहरैंचामा पनि डाक्टर कुटिए

विराटनगर– हैटौडामा दुई जना डाक्टरले कुटाई खाएको घट्ना उत्कर्षमा पुगिरहेका वेला मोरङको सुन्दरहरैंचामा पनि ड्युटीमा रहेका चिकित्सकमाथि हातपात भएको छ ।

सुन्दरहरैंचा नगर अस्पतालका मेडिकल अधिकृत सन्दीप पोखरेलमाथि बूढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीले कुटपिट गरेका हुन।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विपिन यादवका अनुसार डा. पोखरेलमाथि बिहीबार कुटपिट भएको हो। ज्वरो आएका बुबा तारिणीप्रसाद माझीलाई उपचारका लागि लिएर आएका उनले उपचार नगरीदिएको भन्दै डाक्टरमाथि हातपात गरेका हुन।

मेसु यादवले भने–‘पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेर सार्वजनिक बिदा दिएका कारण अस्पतालको ओपीडी (बहिरंग सेवा) बन्द थियो । तारिणीलाई दिउँसो १२ः३० बजेतिर इमर्जेन्सी (आकस्मिक कक्ष)मा नै भर्ना गरेर उपचार सुरु गरियो ।’

आकस्मिक कक्षमा खटिएका डा. पोखरेलले चेकजाँच गरेर तारिणीलाई ज्वरो नभएको र अवस्था सामान्य रहेको जानकारी छोरा शुक्रराजलाई गराएका थिए । त्यसलगत्तै गालीगलौजमा उत्रिएर शुक्रराजले चिकित्सकलाई नै कुटपिट गरेको उनले वताएका छन्।

शुक्रराजलाई इलाका प्रहरी कार्यालय हरैंचाले पक्राउ गरेको छ ।

यसअघि, हेटौंडा १ मा रहेको सन्चो हस्पिटल प्रालीमा बुधबार डाक्टरहरु विकास थापा तथा प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो। हेटौंडा १२ पदमपोखरी घर भएका ४१ वर्षीया राजेश प्रधानको गत साउन २५ गते मृत्यु भएको घट्नालाई लिएर एक महिनापछि उनीहरु कुटिएका हुन।

उक्त घटनामा प्रहरीले मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता, छोरा रोहित, भतिजा अनुपलाई पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट