हामी प्रतिवद्ध छौं

शीर्ष खबर डटकम आजदेखि विधिवत् तपाईहरु सामु प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित बनेका छौं। सूचना सञ्चारका क्षेत्रमा मारिएको फड्कोकै फलस्वरुप अनलाईन पत्रकारिताको उभार बढ्दो छ। परिवर्तनसित तादात्म्य राख्दै अघि बढ्न सक्दा मात्र प्रतिस्पर्धामा टिक्न सकिने तथ्यलाई आत्मसात गर्दै शीर्ष खबर डटकमको पदार्पण भएको व्यहोरा सहर्ष जानकारी गराउँदछौं।

स्थानीय तहलाई स्थानीय सरकारकै रुपमा हेरिएको सन्दर्भमा तिनको बढ्दो जिम्मेवारी तथा यस क्रममा अपेक्षित लक्ष हासिल गर्न त्यहाँ पत्रकारका आँखा पनि पुग्न जरुरी छ। दूरदराज, कुनाकाप्चाका जनताका समस्या पनि स्थानीय सरकारका नजरमा पर्न आवश्यक रहने तथा तिनको उजागरकालागि पत्रकारिता नै सबैभन्दा प्रभावकारी रहने गरेका कारणले स्थानीय पत्रकारिताको महत्व बढेको अवस्था छ।

यस अभियानलाई होस्टेमा हैंसे गर्ने हाम्रो प्रयास रहने छ। कार्यान्वयनमा नआउने फोस्रा भाषण तथा झुठा आश्वासनले मात्र जनताका समस्याको समाधान सम्भव छैन। यो त तत्काल जनता अलमल्याउने मेलो मात्र बन्ला। जनतालाई विकास, शान्ति, सुशासनको प्रत्याभूति दिलाउनकालागि त ईमान्दारिताका साथ काम गर्नै पर्दछ।

मुलुकमा आएको ऐतिहासिक परिवर्तन तथा जनताका प्रतिनिधिबाट बनाईएको गणतान्त्रिक संबिधानमा त जनता सार्वभौमसत्ताका मालिक नै बनेका छन्। सबै प्रकारका विभेदको अन्त्यका साथै जनताका आधारभूत आवश्यकताको परिपूर्ति सरकारले गर्नु पर्छ भन्ने कुरा संबिधानमा लिपिबद्ध त गरिएको छ। तर तिनको परिपूर्ति भएको छ त ? तुलना गरेर हेर्ने हो भने पछाडि पारिएका जनताको जीवनस्तरमा अझै सुधार आउन सकेको देखिन्न। परिवर्तनले तिनको अवस्थामा सुधार ल्याउन जरुरी थियो, तर हुन सकेन।

भ्रष्टाचार र महँगी नियन्त्रण, रोजगारीको उपलब्धता, शिक्षा, स्वास्थ्य, सुरक्षाका सबालमा पनि ठोस काम हुन नसकिरहेको अवस्था भोगेकै विषय हो। अझ दुर्गम तथा कुनाकन्दराका जनताको जीवनस्तर अहिले पनि कष्टसाध्य नै छ। परिवर्तनको प्रत्याभूति पहिला ती विपन्नले पाउन आवश्यक थियो तर प्राप्त हुन सकेन भन्नकालागि हिचकिचाउन नपर्ला। अँध्यारोमा जो रुमल्लिएका छन्, बेथितिका कारण जो पीडित छन्, जो उपेक्षामा परेका छन् तिनका पक्षमा ध्यानाकर्षण हाम्रो प्रमुख कोशिस रहने छ भन्ने कुरा यस अवसरमा प्रतिबद्धता जनाउँछौं।

साथै विकृति, बिसंगति उजागर गर्दै देश र जनताका पक्षमा आफ्नो यस पवित्र अभियानलाई अघि बढाउने नै हाम्रो अभिष्ट रहने छ। सम्पूर्ण पाठक, शुभचिन्तक, शुभेच्छुक तथा प्रबुद्ध वर्गबाट अमूल्य मार्गदर्शन, सल्लाह सुझावको याचना गर्दछौं।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *