स्वास्थ्य संरक्षक योगको विश्वव्यापी प्रभाव
‘स्वस्थ बुढेसकालका लागि योग’ भन्ने मूल नाराका साथ यस वर्ष १२औँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ। सनातन धर्म, संस्कृति एवं चिन्तन पद्धतिले विश्व समुदायलाई धेरै थोक दिएको छ। जसमा शाकाहारी जीवनशैली, सत्य एवं अहिंसाको प्रयोग, परोपकारको भावना, विश्वबन्धुत्व, स्वधर्म, समभाव र योग आदि हुन्। नेपाल एवं भारतलगायत विश्वका अधिकांश देशहरूमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ। निःशुल्क अथवा न्यून खर्चमा शरीरभित्र रहेका अनेकौँ रोगको उपचार यसबाट सहज रूपमा सम्भव भएकोले योगप्रति विश्वव्यापी रूपमा नै आकर्षण बढेको छ। करोडौँ व्यक्ति नियमित रूपमा योग अभ्यास गर्दछन् र आफूलाई स्वस्थ, फुर्तिलो र तनावमुक्त राख्दछन्।
“स्वस्थ बुढ्यौलीका लागि योग” भन्ने यस वर्षको नाराले मानव जीवनको हरेक चरणमा योगको महत्वपूर्ण भूमिकामाथि प्रकाश पार्दछ। योगले शारीरिक लचिलोपन, सन्तुलन शक्ति र मानसिक शान्तिलाई बढावा दिन्छ। साथै तनाव, चिन्ता र जीवनशैलीसँग सम्बन्धित विभिन्न स्वास्थ्य चुनौतीहरूको व्यवस्थापन गर्नमा मद्दत पनि गर्दछ। नियमित योग अभ्यासले सबै उमेरका मानिसहरूलाई स्वस्थ, सक्रिय र आत्मनिर्भर जीवन बिताउन प्रेरित गर्दछ। यस वर्षको नाराले स्वस्थ र सम्मानजनक बुढ्यौलीको विश्वव्यापी लक्ष्यलाई पनि बलियो बनाउँछ। योगप्रति बढ्दो विश्वव्यापी आकर्षण हाम्रो सनातन धर्म–संस्कृति एवं मान्यताप्रतिको स्वीकार्यता पनि हो।
योगका सूत्रहरूमा आस्था एवं अन्धविश्वासका लागि ठाउँ छैन। यो पनि गणित र विज्ञानजस्तै प्रयोगमा आधारित छ। प्रयोगबाट विश्वास गर्न सकिन्छ। दर्शन र विज्ञान सङ्कीर्ण हुन सक्दैन। यो परम स्वास्थ्यको विज्ञान हो तथा अनन्तको दर्शन पनि हो। अस्तित्व सम्पूर्ण हो। एकाइ हुनु दुःख हो भने अनन्त हुनु आनन्द हो। योगमा आनन्दको अनुभूति हुन्छ। योगको सोझो अर्थ जोड्नु हो।
पतञ्जलि (ईशापूर्व १८५–१८४) ले योगसूत्र लेखेका थिए। तर योग पतञ्जलिभन्दा पनि पुरानो हो। मनुष्य एवं ब्रह्माण्डको एकात्म दर्शनको यो विज्ञान भारतवर्षबाट नै सुरु भएको हो। विश्वका अनेकौँ देशले यसलाई आत्मसात् गरे, तर यसलाई “योग” को ठाउँमा “योगा” भन्न थाले। सन् १९६०–७० को दशकमा पनि योगबाट हुने फाइदाबारे विश्वको कुनाकुनासम्म प्रचार गर्ने काम र यसको महत्वबारे बताउने काम योगगुरु परमहंस योगानन्द, स्वामी कुवलयानन्द, महर्षि योगी तथा बिके आचार्यले गरे।
विगत केही दशकदेखि योगगुरु रामदेव तथा उनका नेपाली सहयोगी आचार्य बालकृष्णले यस क्षेत्रमा काम ऐतिहासिक, उल्लेखनीय र प्रशंसनीय गरेका छन्। नयाँ पुस्ताले “योग” को नाम सुन्नेबित्तिकै उपरोक्त दुई जनाको अनुहारलाई स्मरण गर्छन्। आफ्ना जमानाका लोकप्रिय गितारवादक जर्ज ह्यारिसनले आफूलाई यौगिक क्रियाकलापबाट निकै लाभ पुगेको बताएर पुरै पश्चिमेली जगतलाई योगप्रति आकर्षित गराएका थिए। प्रतिष्ठित पत्रिका “टाइम्स” ले सन् २००४ मा प्रकाशित गरेको विश्वका एक सय प्रभावकारी व्यक्तिहरूको सूचीमा विकेश आर्यधरको नाम पनि राखेको थियो। योगको विस्तार र प्रचार–प्रसारमा नेपाल र भारतका धेरैजसो योग शिक्षक र विज्ञहरूको भूमिका रहेको छ। तर योगलाई विश्वव्यापी मान्यता दिलाउने कार्य भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हुन् भन्दा अतिशयोक्ति नहोला। संयुक्त राष्ट्रसंघको महासभामा योगको बारेमा विश्वजगतलाई राम्ररी सम्झाउने र आकर्षित गराउने काम उनले नै गरेका छन्। संयुक्त राष्ट्रसंघले २१ जुनलाई विश्व योग दिवसका रूपमा घोषणा गर्नु हाम्रा निम्ति ठूलो उपलब्धि हो।
सूर्यलाई ऊर्जाको सबैभन्दा ठूलो एवं अक्षय स्रोत मानिन्छ। पृथ्वीमा उसको लामो उपस्थितिले त्यस दिन सबैभन्दा बढी ऊर्जाको स्रोत प्राप्त हुने विश्वास गरिन्छ। हामी आफ्नो योगको पद्धति एवं त्यसको परिणामलाई सोझो रूपमा ऊर्जासँग जोडेर हेर्ने गर्छौँ। योगको अर्थ नै हुन्छ, जोड्नु। ऊर्जामा वृद्धिको पहिलो सिद्धान्त हो कसैसँग जोडिनु तथा अन्यलाई समेत जोड्नु। जसमा जति बढी जोडिने तथा जोड्न सक्ने योग्यता हुन्छ, त्यो त्यति नै क्षमतावान् पनि कहलिन्छ। ऊर्जामा वृद्धिका लागि मात्रै जोडिनु नै पर्याप्त हुँदैन। त्यसलाई दिशा र गतिको पनि आवश्यकता पर्छ। एकआपसमा जोडिनेहरूको दिशा पनि एउटै हुनुपर्छ। २१ जुनका दिन पृथ्वीमा सूर्यको उपस्थिति निकै लामो समयसम्म हुने गर्छ। सम्भवतः यिनै कारणले होला संयुक्त राष्ट्रसंघले पनि यसै दिनलाई अन्तर्राष्ट्रिय योग दिवस घोषित गरेको हुनुपर्छ।
वर्तमान अवस्थामा यौगिक विज्ञान जति महत्वपूर्ण साबित भइरहेको छ, यसअघि यो कहिल्यै यति बढी थिएन। वर्तमान अवस्थामा हामीसँग विज्ञान एवं प्रविधिका तमाम साधनहरू छन्, तिनले विश्वको निर्माण एवं विनाश दुवै गरिरहेका छन्। यस्तोमा यो निकै महत्वपूर्ण हुन जान्छ कि हाम्रो जीवनप्रति जागरुकता एवं यस्तो भाव कायम रहोस्, ताकि हामी प्रत्येक प्राणीमा आफ्नो शरीरको अंश भएको अनुभूति गर्न सकौँ।
विश्वका अनेकौँ देश तथा विश्वविद्यालयहरूमा अनुसन्धानमार्फत यो सिद्धान्त प्रतिपादित गरिएको छ कि योग शारीरिक रोग तथा मानसिक तनावबाट बचाउनका साथै मानसिक शान्ति प्रदान गर्न पनि सक्षम छ। विश्वप्रसिद्ध अमेरिकी बोस्टन विश्वविद्यालयको “स्कुल अफ मेडिसिन”द्वारा मे २०१२ मा प्रकाशित मेडिकल हाइपोथेसिस जर्नलमा यो प्रतिपादित गरिएको थियो कि पुरानो रोग तथा दुर्घटनापश्चात् सामान्य हुन तनावमुक्त योग निकै प्रभावशाली साबित हुने गर्छ। किनभने योगले मानव शरीरको “सेन्ट्रल नर्भस सिस्टम” को आधार मानिएको तन्त्रिकातन्त्रलाई प्रचुर मात्रामा ऊर्जा प्रदान गर्दछ। त्यसैगरी हार्वर्ड विश्वविद्यालयको एक अनुसन्धानले पनि योगलाई यस्ता स्वास्थ्यजन्य समस्याको समाधानमा सर्वाधिक प्रभावकारी मानेको छ।
मीमांसा, न्याय, वैशेषिक, सांख्य, वेदान्त आदि भारतवर्षका प्राचीन दर्शन हुन्। स्वस्थ शरीर एवं एकाग्र मन आदिम अभिलाषा हो। बुद्ध र जैन दर्शनको थालनी पनि यहीँबाट भएको हो, तर सांख्य एवं योग प्राचीन दर्शन हुन्। शायद त्यही भएर हाम्रा ऋषिमुनिहरू सय वर्षसम्म बाँच्ने गर्दथे।
स्वस्थ रहन रोगको उपचार गर्नुपर्ने मान्यताविपरीत एउटा निश्चित शारीरिक एवं मानसिक व्यवस्था कायम गरी रोग लाग्नबाट नै धेरै हदसम्म रोक्न सकिन्छ। योग एक किसिमको यस्तो स्वास्थ्य उपचारको माध्यम हो, जसमा पैसा खर्च नै नगरी व्यक्तिलाई स्वस्थ बनाउन सकिन्छ। योग हाम्रो समाजका निर्धन व्यक्तिका निम्ति वरदान साबित हुन सक्छ। नेपालका लाखौँ युवाहरू वैदेशिक रोजगारका लागि विदेश गइरहेका छन्। पढेलेखेका युवा बेरोजगार भएर बाँच्न बाध्य छन्। योगको प्रशिक्षण प्राप्त गरेर सयौँ–हजारौँ नेपाली युवा विदेशमा योग प्रशिक्षकका रूपमा काम गरी मान, सम्मान र पैसा पनि कमाउन सक्छन्। विश्वका अनेकौँ देशहरूमा योगप्रति आकर्षण बढिरहेको छ। हाम्रा युवाहरूले यस अवसरबाट लाभ उठाउन सक्छन्।
स्वास्थ्य संरक्षक योगलाई हामी सबैले आफ्नो जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ। नेपाल र दक्षिणी छिमेकी भारतसहित विश्वका झण्डै दुई सय देशहरूमा योग दिवस मनाउने गरिन्छ। हाम्रो यस अमूल्य धरोहरको हामीले संरक्षण र संवद्र्धन गर्नुपर्छ।

