माओवादी आधार इलाका रोल्पामा ‘सप्ताह’ लगाएर फर्किए रवि लामिछाने

काठमाण्डौं– १० वर्ष जनयुद्धको ‘आधार इलाका’ रोल्पाको थवाङमा समेत रवि लामिछानेको घण्टीको आवाज सुनिन थालेपछि नेकपा माओवादी केन्द्रका नेता÷कार्यकर्ताको मनमा ढ्याङ्ग्रो वज्न थालेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने माओवादी जनयुद्धको उदगम स्थल थवाङसहित रोल्पाका गाउँगाउँमा पुगेर ‘राजनीतिक सप्ताह ज्ञान यज्ञ’ सकेर असोज ७ गते काठमाण्डौं फर्किएका छन्।
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, उपमहासचिव वर्षमान पुन, माओवादी नेतृ ओनसरी घर्ती र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको गृहजिल्लामा पाँच दिन वसेका लामिछानेले द्वन्द्वपीडितहरुका गुनासा सुनेर फर्किएका छन्।
त्यसक्रममा कतिपय स्थानीयवासीले माओवादीका नेताहरुले ‘खोला तर्यो लौरो बिर्सियो’ भने झै ब्यवहार गरेको गुनासो गरे। शान्तिपुर्ण राजनीतिमा आएपछि माओवादी नेताहरुले आफूहरुका कुरा सुन्दै नसुनेको उनीहरुको गुनासो छ।
उनीहरुले जनयुद्धका क्रममा बेपत्ता आफ्ना आफन्तको खोजीदेखि मारिएका तथा घाइतेहरुले उचित राहत नपाएको गुनासो पनि गरे।
उसो त रवि लामिछानेलाई रोल्पा छिर्न नदिने प्रयास समेत भएको खुलासा भएको छ। माओवादी केन्द्रका केन्द्रीय सदस्य झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी ‘प्रयास’ ले बोलेको कुराले यो कुरालाई पुष्टि गरेको छ।
सन्तोष नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय सदस्य हुन्। तर, अहिले उनीहरु दुवै जनना समाजवादी मोर्चामा एकै ठाउँ छन्। रवि रोल्पा छिरेपछि माओवादी घटकहरुको एउटा छलफल आयोजनना गरिएको थियो।
उक्त छलफलका भीडीओमा विप्लव नेतृत्वको नेकपासहित माओवादी कार्यकर्ताहरु पनि देखिएका छन्। छलफलमा सन्तोषले ‘कम्युनिष्टहरुको केन्द्र रोल्पामा साम्राज्यवादीका मान्छे छिराउनु सानोतिनो कुरा नभएको’ अभिब्यक्ति दिएका छन्।
उनले भनेका छन्– ‘कम्युनिष्टहरुको केन्द्र रोल्पामा रवि जस्ता मान्छे छिराउने भनिसकेपछि सानो कुरा होइन। हेर्दाहेर्दै साम्राज्यवादीका मान्छेलाई क्रान्तिको आधार इलाका छिराइछाडे। सहिद स्मृति भवनमा पनि छिराइछाडे।’
पार्टी अभियान लिएर रवि रोल्पा आउन लागेको थाहा पाएपछि आफूले रोक्ने कोसिस गरेको तर सफल नभएको उनले वताएका छन्। उनले देश रविको हातमा जाँदै गरेकोमा चिन्ता ब्यक्त गरेका छन्।
उनले ‘हामीलाई रवि चाहिएको हो कि विप्लव चाहिएको हो? स्वाधीनता चाहिएको हो कि पराधीनता चाहिएको हो ?’ भन्दै प्रश्न समेत गरेका छन्।