तीनकुने घटनाका आरोपीको बयानले चकित छ प्रहरी, रनभुल्लमा अनुशन्धान

काठमाडौं– गत भदौ २९ गते काठमाडौं महानगरपालिका–३२ गैह्रीगाउँस्थित दिव्य सःमिल एण्ड काष्ठ उद्योगमा ४ जनाको सामूहिक रुपमा विभत्स हत्या भयो।
फर्निचरमा बसेर काम गर्दै आएका दोलखाको कालिन्चोक गाउँपालिका–८ घर भएका ५६ वर्षीय कुमार भुजेल भनिने पूर्णबहादुर भुजेल, उनकी श्रमती ५० वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटाको भिरगाउँ गाउँपालिका–२ घर भएका १९ वर्षीय नवीन भनिने विशाल राईको खुकुरीले छप्काएर हत्या गरिएको थियो।
उक्त हत्या आरोपमा प्रहरीले भदौ ३१ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ घर भइ काठमाडौं काँडाघारी वीरेन्द्र चोक बस्ने २३ वर्षीय सञ्जय भण्डारीलाई पक्राउ गर्यो। बोल्न नसक्ने तर कक्षा १२ सम्म पढेका भण्डारी अहिले जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा छन्।
भण्डारीले ४ जनाको हत्या आफुले गरेको भन्दै स्विकारेका छन्। त्यसमाथि अन्य विभिन्न ठाउँमा धेरै जनाको हत्या गरेको सनसनीपूर्ण बयान दिएका छन्। लागु औषधको कसुरमा पक्राउ परेर प्रहरी परिसर टेकुकै हिरासतमा रहेका एक व्यक्तिलाई समेत उनले आफूसँगै मिलेर हत्या गरेको भन्दै बयान दिएका छन्।
उनको बयानपछि प्रहरी चकित मात्रै परेको छैन, तनावमा छ। उनले नक्साल, रोतोपुलमा पनि केही व्यक्तिको हत्या गरेको बयान दिएपछि प्रहरी उनलाई लिएर घटनास्थल पुगेको थियो। उनले देखाएको लोकेसनमा केही समय पहिले १ महिलाको शव भेटिएको थियो।
अहिले उनै भण्डारीले उक्त घटनासँग मिल्दोजुल्दो बयान दिएपछि प्रहरी अधिकारीहरु चकित छन्। उनले भनेका कुराहरुलाई विभिन्न प्रमाणमार्फत् पुष्टि गर्नसक्ने आधारहरु छन÷छैनन् भन्ने विषयमा केन्द्रित भएर प्रहरीले अहिले अनुसन्धान गरिरहेको छ।
०७८ जेठ २७ गते बौद्धमा बोह्रामा भेटिएको खुट्टा र लकडाउनमा भक्तपुरको हनुमन्ते खोलामा भेटिएको टाउको विनाको शव प्रकरणसँग पनि उनको बयान मिल्दोजुल्दो छ। ‘बौद्धको केशमा शरीरका अरु भाग खोइ भन्दा अन्यत्र फालेको थिएँ, कुकुरले खाइहाल्छ नि’ भन्दै उनले वयान दिएको अनुसन्धान अधिकृतले वताएका छन्।
‘भक्तपुरमा पनि त्यो विषय धेरैतिर आएको थिएन, तर उनले टाउको नभएकै भनेका छन् । त्यसैले गम्भीरतापूर्वक अनुसन्धान थालेका हौं ।’– अनुशन्धान अधिकृतले भने।
उनको बयानमा भक्तपुरको बोडेमा महिलाको हत्या गरेर खोलामा फ्याँकिदिएको विषय पनि आएको छ। यो घटना लकडाउनको समयको भएको उनको दाबी छ । कोरोनाको समयमा ०७७ सालमा लकडाउन घोषणा गरेको पहिलो साता गठ्ठाघर र बालकोटको सिमानामा पर्ने हनुमन्ते खोला किनारमा टाउको विनाको शव भेटिएको थियो ।
त्यसबेला शवमा खुट्टा र हातको पञ्जा पनि काटिएको थियो भने हुलिया नखुल्दा अनुसन्धान अलपत्र परेको थियो । आसपास सीसी टीभी क्यामरा पनि नहुँदा अनुसन्धान अघि बढ्न सकेको थिएन ।
फरेन्सिक विज्ञहरुले भने शवको प्रकृति हेरेर १७ देखि १९ वर्षको युवती हुनसक्ने आशंका गरेका थिए । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर, भक्तपुरले यो घटनामा लामो समयसम्म अनुसन्धान गरेको थियो । तर अनुसन्धानमा कुनै क्लू फेला परेन।
बौद्धमा पनि आफूले एउटा शव टुक्राटुक्रा पारेर फ्यालिदिएको उनको दाबी छ । बौद्धको टाउनप्लानिङमा ०७८ जेठ २५ गते एउटा बोराभित्र मानिसको खुट्टा भेटिएको थियो । प्रहरीले लामो समयसम्म अनुसन्धान गरे पनि यसमा कुनै ‘क्लू’ पाउन सकेको थिएन । पछि ‘तान्त्रिकले शंख बनाउनलाई आर्यघाटबाट उठाएर ल्याएको’ हुनसक्ने भन्दै अनुसन्धान बन्द भएको थियो ।
भण्डारीले भने त्यो खुट्टा पनि आफूले राखेको दाबी गर्दै सीसीटीभी फुटेज हेर्न प्रहरीलाई चुनौती दिएका छन् । त्यसपछि प्रहरीले पहिलेको अनुसन्धान टोलीले राखेको सीसीटीभीको ‘हार्ड डिस्क’ मगाएको थियो । त्यसमा तीन जना व्यक्ति देखिएको र त्योमध्ये एक जना मै हुँ भन्दै उनले बयान दिएका छन्।
भण्डारीले सिन्धुपाल्चोकमा समेत हत्या गरेको भन्दै बयान दिएको प्रहरी अधिकारी बताउँछन्। आफूलाई सिन्धुपाल्चोक पु¥याएपछि हत्या गरेको ठाउँ देखाइदिने उनको भनाइ छ। उनको भनाइमा विश्वास गर्ने ठाउँ नदेखिएको भन्दै प्रहरीले उनलाई सिन्धुपाल्चोक लगेको छैन। तर, सिन्धुपाल्चोक लगेर समेत हत्या गरेको स्थान देखाउन लगाउने तयारी भने भईरहेको जनाईएको छ।
भण्डारीको एकपछि अर्को आश्चर्यजनक बयानपछि काठमाडौं प्रहरीले केही पुराना घटनाका फाइल समेत अनुशन्धान गरिरहेको छ।