पाकिस्तानले विश्व किर्तिमानसहित ६ विकेटले श्रीलंकालाई हरायो

राजविराज– भारतमा जारी एकदिवशीय विश्वकपमा पाकिस्तानले विश्व कीर्तिमानसहित लगातार दोस्रो जित हात पारेको छ ।
पाकिस्तानले मङ्गलवार ३ सय ४५ रनको लक्ष्य पुरा गर्दै श्रीलंकालाई ६ विकेटले हरायो। विश्वकपमा यसअघि ३ सय २९ रनसम्मको लक्ष्य पुरा भएको रेकर्ड थियो ।
३ सय ४५ रनको विशाल लक्ष्य पाकिस्तानले ४८.२ ओभरमा ४ विकेट गुमाएर पार गर्यो। विश्वकपको इतिहासमा चेज भएको यो सबैभन्दा ठूलो लक्ष्य हो । यसअघि विश्वकपमा २०११ मा आयरल्यान्डले इंग्ल्यान्डविरुद्ध ३ सय २८ रनको लक्ष्य पूरा गरेको थियो ।
पाकिस्तानको कीर्तिमानी जितमा मोहम्मद रिजवानले एक सय ३१ र अब्दुल्लाह सफिकले एक सय १३ रन बनाए । विश्वकपमा भने रिजवान र सफिक दुवैको पहिलो शतक हो । उनीहरूले तेस्रो विकेटका लागि एक सय ७६ रनको साझेदारी गरेका थिए । साउद सकिलले ३१ र इफ्तिकर अहमदले २२ रन बनाए । पाकिस्तानले २६ अतिरिक्त रन पाएको थियो ।
यो खेलमा विश्वकप इतिहासमै पहिलो पटक चार शतक बने । श्रीलंकाली खेलाडीले पनि पहिलो इनिङसमा पनि दुई शतक हानेका थिए । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ४४ रन बनाएको थियो ।
कुशल मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्कासहित १ सय २२ रनको उत्कृष्ट इनिङ्स खेले । उनले ६५ बलमा शतक पुरा गरेका थिए । यस्तै सदिरा समराविक्रमाले ७९ बलमा ११ चौका र २ छक्कासहित १ सय ८ रन बनाए । उनको एकदिवशीयमा पहिलो शतक हो ।
पाकिस्तानका हसन अलीले ४ र हरिस रौफले २ विकेट लिए । पाकिस्तानले पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । उसले आगामी शनिबार भारतसँग खेल्नेछ । श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग १ सय २ रनले पराजित भएको थियो । बुधबार भारत र अफगानिस्तानबीच प्रतिस्पर्धा हुनेछ।