आतंककारीले कब्जा गरेको भन्दै उत्तरी गाजा सहर ध्वस्त बनाउने इजरायली सेनाले तयारी

काठमाडौं– इजरायलको सेनाले उत्तरी गाजा सहर ध्वस्त बनाउने तयारी सुरु गरेको छ। उक्त सहर आतंककारीको सहर भएको भन्दै सेनाले त्यसलाई ध्वस्त वनाउने तयारी गरेको हो।

इजरायली सेनाले उत्तरी गाजाका नागरिकलाई जतिसक्दो चाँडो सहर छाड्न आदेश दिएको छ। अब जल, जमिन र आकासबाट आक्रमण गरिने सेनाले जनाएको बीबीसीले उल्लेख गरेको छ ।

गाजालाई अब सधैँका लागि हमासमुक्त क्षेत्र बनाउने योजनाका साथ सबै सुरङ ध्वस्त बनाउने र उसका हरेक किल्ला सखाप पार्ने इजरायलले चेतावनी दिएको छ ।

गाजाको उत्तरमा रहेका अस्पतालहरूलाई समेत खाली गर्न भनिएको छ।

तर इजरायलले भनेजस्तो ११ लाख मानिसलाई तत्कालै गाजाबाट अन्त पठाउन असम्भव रहेको र इजरायलले मानवीयता विरोधी चेतावनी दिएको संयुक्त राष्ट्रसंघले जनाएको छ । केही बिरामीहरूलाई स्थानान्तरण गर्न बाध्य पार्नु ‘मृत्युदण्डको सजाय जस्तै हुनसक्ने’ चेतावनी राष्ट्रसंघले दिएको छ।

डब्ल्यूएचओले उत्तरी गाजामा दुई हजार भन्दा बढी बिरामीहरूको उपचार गर्ने २२ अस्पतालहरू खाली गर्ने इजरायलको आदेशको कडा निन्दा गरेको छ। धेरै नागरिकहरू अस्पताल वरिपरि शरण खोजिरहेका छन्, स्वास्थ्य सुविधाहरूमा बम विष्फोट हुँदा उनीहरूको जीवन पनि जोखिममा रहेको डब्ल्युएचओले जनाएको छ ।

इजरायल र प्यालेस्टाइनको विद्रोही समूह हमासबीच जारी युद्धले नागरिकको दैनिकी कष्टपूर्ण बनेको छ । गाजामा इजरायलको आक्रमण तथा इजरायली भूभागमा हमासको आक्रमणका कारण दुवैतर्फ मानवीय सहायताको आवश्यकता रहेको अन्तर्राष्ट्रिय संघसंस्थाले जनाएका हुन ।

गाजामा इजरायलको निरन्तर आक्रमण र नाकाबन्दीका कारण सर्वसाधारणको कठिनाइ बढिरहेको छ । त्यहाँ पानी, इन्धन, बिजुलीलगायतको आपूर्ति रोकिएको छ । हमासले पनि गाजामा आक्रमणको प्रतिरोधस्वरूप इजरायलको अस्केलोन सहरमा आक्रमण गर्ने धम्की दिएको छ ।

हमासले आक्रमण गरेपछि इजरायलको सुरक्षा परिषद्ले औपचारिक रूपमा ‘युद्ध स्थिति’ को घोषणा गरिसकेको छ । यो घोषणापछि इजरायल सरकारलाई महत्वपूर्ण सैन्य गतिविधि गर्न अनुमति मिलेको छ ।

सन् १९६७ को मध्यपूर्वको युद्धपछि इजरायलले पूर्वी जेरुसेलममाथि कब्जा गरेको थियो । त्यसपछि उसले पूरा जेरुसेलमलाई आफ्नो राजधानी दाबी गर्दै आएको छ । प्यालेस्टाइनले भने पूर्वी जेरुसेलमलाई ‘भविष्यको एक सार्वभौम र स्वतन्त्र मुलुकको राजधानी’ का रूपमा लिँदै आएको छ । यही विषयमा प्यालेस्टाइन र इजरायलबीच विवाद रहँदै आएको छ भने पटक–पटक यसले युद्धको रूप लिएको छ ।

सन् २०१४ को जुलाईदेखि अगस्टको बीचमा भएको द्वन्द्वमा २ हजार २५१ प्यालेस्टाइनी मारिएका थिए । तीमध्ये १ हजार ४ सय ६२ त सर्वसाधारण नै थिए । त्यस्तै इजरायलका ६ सर्वसाधारणसहित ६७ जना सैनिक मारिएका थिए ।

पछिल्लो पटक २०२२ अगस्टमा इजरायली सेनाले प्यालेस्टाइनी विद्रोही अखडामा हवाई आक्रमण गर्दा ४४ जनाको मृत्यु भएको थियो । प्यालेस्टाइनी विद्रोही समूहले १ हजारभन्दा बढी रकेट आक्रमण गरेपछि इजरायलले जवाफी कारबाही गरेको दाबी गरेको थियो । त्यसअघि सन् २०२१ मा रमदानकै महिना इजरायल–प्यालेस्टाइन द्वन्द्व चर्किएको थियो । ११ दिनसम्म लम्बिएको हिंसात्मक द्वन्द्वमा गाजा क्षेत्रका २ सय ५० जना र इजरायलका १३ जना मारिएका थिए ।

इजिप्टबाट कब्जामा लिएको ३८ वर्षपछि इजरायली सेना गाजाबाट एकतर्फी हटेको थियो । त्यस क्षेत्रलाई उसले प्यालेस्टाइनलाई छाडिदिएको थियो । त्यसयता कयौं पटक इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्किंदै आएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट