पतिलाई विदेश पठाएर अनैतिक सम्वन्धमा रमाउँदा भावनाले ज्यानै गुमाईन

काठमाडौं– बहुविवाह मुद्धामा रुकुम कारागारमा कैद भुक्तान गरिरहेका रुकुमपश्चिमकै सानीभेरी गाउँपालिका –९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद मिनाह पाए।

उच्च अदालत सुर्खेतले ०७६ जेठ ९ गते एक वर्ष कैद सजाय सुनाइएका लोकबहादुर ०७९ फागुन १४ गतेदेखि कैदमा थिए। अन्तिम फैसला नहुँदा त्यसअघि नै २४ दिन कैद भुक्तान गरेका उनी ०८० माघ १९ गते कैदमुक्त हुनुपर्ने थियो।

तर, ७ महिना १२ दिन कैद भुक्तान गरेको र असल चालचलन रहेको भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले बाँकी कैद मिनाहा गरेर कारागार मुक्त भएका लोकबहादुर कैदमुक्त भएको २५ दिनमै हत्या अरोपमा पक्राउ परेका छन्।

लोकबहादुरले मुसीकोट नगरपालिका –७ साँखकी २८ वर्षीया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका डीएसपी नमराज भट्टराईले जानकारी दिए । भावनाको हत्या गरेको आरोपी लोकबहादुरले स्वीकार गरेका छन्।

प्रमाण र अनुसन्धानका क्रममासमेत उनले नै भावनाको हत्या गरेको खुल्न आएको भन्दै प्रहरीले लोकहादुरलाई पक्राउ गरेर बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते भावनालाई मुसीकोट नगरपालिका –१ खलङगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ ।

अघिल्लो दिन होटेल पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान् श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्वर १ बुक गरेका थिए । दुवै जना २९ गते बिहान १० बजेबाट सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो ।

लोकबहादुरले धारिलो हतियारले भावनाको घाँटि रेटेर हत्या गरेको डिएसपी भट्टराईले बताए । अनैतिक सम्बन्ध र आर्थिक लेनदेनको कारण हत्या भएको प्रहरीको भनाई छ । स्थानीयका अनुसार मृतक महिलाका श्रीमान् वैदेशिक रोजगारीमा छन् भने लोकेन्द्रकी कान्छी श्रीमती पनि विहे लगत्तै विदेश हिँडेकी थिइन् ।

प्रहरीले घटनास्थलबाट चक्कु, नगद ८५ हजार ८३५ रुपियाँ र प्रतिवादीको मोबाईलसमेत बरामद गरेको छ । असोज ३ पछि दुई जना बिच १२४ पटक मोबाईलमा कुराकानी भएको, प्रतिवादी कारागारमा रहँदा मृतक दुई पटक भेट्न गएको पनि प्रहरीले खुलाएको छ।

प्रहरीका अनुसार दुवै जना बीच प्रेम सम्बन्ध (अनैतिक) रहेको र महिलाले बिहे गर्न प्रस्ताव राखेपछि विवाद बढेर हत्याको अवस्थामा पुगेको उनले बयान दिएका छन् । मृतक भावना गत वर्ष भएको स्थानीय तह निर्वाचनको बेला म्यादी प्रहरीमा भर्ना भएर सानीभेरी गाउँपालिका कार्यक्षेत्रमा खटिएकी थिइन् ।

सानीभेरी ९ सिम्लीमा रहेको हत्या आरोपी लोकबहादुरको होटेलमा म्यादी प्रहरीले खाना खाने गरेका थिए । प्रहरीका अनुसार त्यतिबेलै देखि दुवैजना नजिक भएर अनैतिक सम्बन्धमा गाँसिएको पाइएको छ।

मृतक भावनाकी सासुआमा उजेली कामीले बुधबार कर्तव्य ज्यानमा किटानी जाहेरी दिएपछि जिल्ला अदालतबाट स्वीकृती लिई लोकेन्द्रलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट