चीनका विदेशमन्त्रीपछि रक्षामन्त्री पनि बर्खास्त, खुल्दैन कारण

काठमाडौं– भ्रष्टाचारको संदिग्ध गतिविधिमा संलग्न भएको आशंकापछि चीनका रक्षामन्त्री ली साङ्फुलाई पदबाट बरखास्त गरिएको छ। सार्वजनिक मञ्च/समारोहहरुमा देखिन छोडेको दुई महिनापछि ली साङ्फुलाई औपचारिक रूपमा बर्खास्त गरिएको हो।
उनलाई बर्खास्त गर्नुको कारण खुलाइएको छैन । सी चिनफिङको मन्त्रिपरिषद्का सदस्य विदेशमन्त्री क्विन ग्याङलाई पनि गत जुलाईमा बर्खास्त गरिएको थियो । उनको बर्खास्ती पछि धेरै उच्च सैन्य अधिकारीहरूलाई पनि हटाइएको जनाईएको छ।
नेशनल पिपुल्स कंग्रेसको स्थायी समितिले चीनका शीर्ष विधायकहरूसमेत रहेका उनीहरुलाई हटाउने निर्णय गरेको जनाईएको छ। यसै साता विदेशी रक्षा अधिकारीहरूलाई स्वागत गर्ने तयारी गरिरहेका बेला रक्षामन्त्री औपचारिक रुपमा हटाइएपछि यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
रोयटर्सले गत महिनागरेको रिपोर्टमा रक्षामन्त्री उपकरण खरिद र विकाससम्बन्धी संदिग्ध भ्रष्टाचारको अनुसन्धानमा तानिएको जनाएको थियो। स्याटेलाइट र रकेट प्रक्षेपण केन्द्रबाट आफ्नो करिअर सुरु गरेका एक एयरोस्पेस इन्जिनियर जनरल लीले सैन्य फाँटमा काम गरेका थिए ।
सन् २०१८ उसले सेनाको उपकरण विकास शाखाको नेतृत्व गरेका उनी पछिल्लो पटक २९ अगस्टमा अफ्रिकी राष्ट्रहरूसँग बेइजिङ सुरक्षा फोरममा सार्वजनिक रूपमा देखिएका थिए।
एजेन्सीको सहयोगमा