खुट्टा ढोग्न नमानेपछि २० वर्षिय युवकको कुटिकुटी हत्या, एक जना पक्राउ

काठमाडौं– जवरजस्ती खुट्टा ढोगाउन खोजेका युवाहरुको आदेश नमान्दा सल्यानको बागचौर नगरपालिका–७ कोटबाराका २० वर्षीय घनश्याम वलीको हत्या गरिएको छ।

आफनो खुट्टा ढोग्न नमानेपछि बागचौर– ८ स्यालाका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले कुटेर उनको हत्या गरेका हुन। कात्तिक ४ गते दुई जना मिलेर घनश्याममाथि कुटपिट गरिएको थियो। घाइते घनश्यामको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको प्रहरीले जनाएको छ।

भलिबल खेल हेर्न गएका घनश्याम माथि अनाहकमा कुटपिट गरिएको पाईएको छ। स्थानीयको भनाईका आधारमा प्रहरीले दिएको जानकारी अनुसार कात्तिक ४ गते पुरानछाप गाउँको स्थानीय विद्यालयमा युवाहरू भलिबल खेलिरहेका थिए। घनश्याम पनि भलिबल खेल्न र हेर्न भनेर त्यहाँ पुगेका थिए।

भलिबल चलिरहेको समयमा केशर र सन्तोष मैदानमा प्रवेश गरे। त्यत्तिकैमा केशर र सन्तोषले घनश्यामलाई ‘दाइहरूलाई ढोग’ भन्दै आदेश दिए। तर, घनश्यामले उनीहरूलाई ढोग्न मानेनन्। त्यसपछि दुई जना मिलेर उनलाई निर्घात कुटपिट गरे।

घनश्याम बेलुका घरमा पुगेपछि टाउको दुखेको भन्दै खाना नखाई सुते तर कुटपिट भएको कुरा भनेनन्। ५ गते पनि घनश्यामले खाना खाएनन्। बिरामी परेको ठानेर घरपरिवारले झारफुक गरे। ६ गते घनश्यामले आफूमाथि कुटपिट भएको र अस्पताल लैजान घरपरिवारलाई आग्रह गरे। त्यसपछि मात्रै घटनाबारे प्रहरीलाई पनि सूचना दिईयो।

घनश्यामको बागचौरस्थित मेडिकलमा उपचार गरियो। स्वास्थ्यकर्मीले शरीरभित्र कुटपिटबाट रगत जमेको भन्दै बाहिर लैजान सुझाए। त्यसपछि उनलाई उपचारका लागि भारतको लखनउ पु¥याइएको थियो। उपचारकै क्रममा त्यहाँ उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका डिएसपी नवीन कार्कीले बताए।

कुटपिटमा संलग्नमध्ये सन्तोष पक्राउ परेका छन्। उनलाई दाङ प्रहरीको सहयोगमा बुधबार पक्राउपछि सल्यान लगिएको छ। केशर भने फरार भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट