प्रहरीको टोली नै मिलेर राजधानीमा डकैती, असई, हवल्दार र जवानसहित ५ जना विरुद्ध मुद्दा

काठमाडौं– जनताको जिउधनको सुरक्षाका लागि खटिएको प्रहरी टोली नै डकैटीमा संलग्न भएको पाईएको छ, त्यो पनि संघीय राजधानी काठमाण्डौंमा। डकैतीमा नेपाल प्रहरीका असईदेखि सहायक हवल्दार र जवानसमेत संलग्न रहेको पाईएको छ।
घट्ना हालसालैको हो। प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई ४३ वर्षीय सुनबहादुर तामाङ, ३३ वर्षीय सहायक हवल्दार खगराज अधिकारी र २२ वर्षीय जवान भुवन बराल यसमा संलग्न देखिएका छन्। यसैगरी, सुनसरीको तरहरा घर भइ काठमाडौं बस्दै आएका २८ वर्षीय मदन पुरी र सोही ठाउँका २५ वर्षीय सन्तोष पुरी पनि डकैतीमा सहयोगी भएको पाईएको छ।
२१ असोजमा भएको यो डकैतीमा संलग्न ५ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश कपिलमणि गौतमको इजलासमा यो मुद्दाको सुनुवाइ भइरहेको छ।
यी पाँचै जनाविरुद्ध कुमार रोकाले प्रहरीमा जाहेरी दिएका थिए। २१ असोजको राती रोका र उनका साथी नवराज नगरकोटी छुट्टा–छुट्टै कार चलाएर ठमेलबाट बालुवाटार जाँदै थिए। सोही क्रममा ३ जना महिलाले लिफ्ट मागे।
पानीपोखरी पुगेपछि प्रतिवादी बनाइएका सन्तोष पुरीले दुबै कारलाई रोके। त्यसपछि पुरीले ‘यी केटीहरुलाई कहाँ बेच्न हिँडेको?’ भन्दै प्रश्न गरेका थिए। त्यसपछि उनीहरु सबैलाई कारबाट उतारेर ड्युटीमा रहेका असई सुनबहादुरले प्रहरी भ्यानमा राखेर त्रिवि शिक्षण अस्पताल हुँदै निर्मल निवासको गल्लीतर्फ लगे।
निर्मल निवासको गल्लीमा पु¥याएपछि कुटपिट गर्दै आफ्नो साथमा भएको साढे १७ हजार रुपैयाँ लुटपाट गर्नुका साथै असई तामाङसहितको टोलीले डेढ लाख रकम माग गरेको उनको भनाई छ। त्यसपछि ई–सेवामार्फत् थप २५ हजार रुपैयाँ ट्रान्सफर गर्न लगाएर साढे ४७ हजार रुपैयाँ असई तामाङसहितको टोलीले डकैती गरेको रोकाले जाहेरीमा उल्लेख गरेका छन्।
आफू लुटिएपछि तत्कालै रोकाले प्रहरी कन्ट्रोल १०० मा फोन गरी घटनाबारे जानकारी गराएका थिए। २३ असोजमा जिल्ला प्रहरी परिसर काठमाडौंले उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।
अनुसन्धानका क्रममा डकैतीको आरोप पुष्टि भएपछि मुद्दा चलाइएको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा नवराज नगरकोटीले केटीहरुसँग सम्पर्क गरी ग्राहकसम्म पु-याउने काम गर्ने गरेका थिए। यस्तै, पुरी द्वयले पनि नगरकोटीलाई केटी ल्याउन भनेर काम लगाएको, लुटपाटको योजना बनाएर प्रहरीको सहयोगमा लुटपाग गरेको खुलेको अनुसन्धान अधिकृतले बताए।
पुरीकै योजनामा नगरकोटी र रोकाले कारमा केटी राखेर ल्याएपछि कहाँ बेच्न हिँडेको भन्दै प्रहरी भ्यानमा राखेर डरधम्की दिँदै लुटपाट गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।