कता फर्केर लगाउने भाइटीका, यस्तो छ विधि र परम्परा

राजविराज– तिहारको मुख्य दिन आज दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर भाइटीका पर्व मनाइँदै छ। यस दिन दिदीबहिनीहरुले दाजुभाईलाई सप्तरंगी टीका लगाइदिएर येश, ऐश्वर्य, दीर्घायु र समृद्धिको कामना गर्दछन्।

टीका लगाइदिइसकेपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायतका खानेकुरा दिन्छन् । दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने परम्परा छ।

भाइटीकाको उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

हरेक शुभकर्ममा चन्द्रमालाई अगाडि वा दायाँ पार्नुपर्ने शास्त्रीय नियम छ। भाइटीका लगाउँदा टीका थाप्न बस्ने व्यक्तिले चन्द्रमालाई सम्मुख वा दायाँ तिर पार्नुपर्छ। यस वर्ष भाइटीका लगाइदिने दिदीबहिनी पश्चिम र लगाइमाग्ने दाजुभाइ पूर्व फर्कनुपर्ने पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा.डा. देवमणि भट्टराईले बताए।

यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्ने भएकाले दिदीबहिनी पश्चिम र दाजुभाइ पूर्व फर्किनुपर्ने उनको भनाइ छ।

टीका लगाउनु अघि पूजा सामग्रीमा कलश, दियो, गणेश, ओखर, तोरीको तेल, बिमिरो, फूलमाला, दूबो, लावा, आदि तयार गरिन्छ । त्यसपछि सबैभन्दा पहिले लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश, गणेशसँगै बिमिरोलाई राखेर दिदीबहिनीहरुले पूजा गर्नुपर्छ।

मूलथालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, ब्यास, हनुमान, विभिषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना, धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताकोसमेत पूजा गर्नुपर्छ।

त्यसपछि दाजुभाइको चिरञ्जिवी र मंगल कामना गर्दै घरको ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्ने चलन छ। दाजुभाइ टीका लगाउन बसेको आसन वरिपरि पानी र तेलको सात घेराले छेकेर दाजुभाइलाई फूल, अक्षता, लाभा आदिले पूजा गर्ने, कपालमा तेल लगाइदिने आदि गरिन्छ ।

त्यसपछि टीका लगाइदिन सुरु हुन्छ । हिन्दू धर्मशास्त्रमा टीका लगाइदिँदा रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रंगको प्रयोग गर्नुपर्ने उल्लेख छ । यद्यपि नेपालका अधिकांश स्थानमा सातवटा रंगको टीका लगादिने चलन छ ।

टीका लगाइदिइसकेपछि मखमली, सयपत्री, गोदावरीलगायतका फूलको वा दुबोका माला लगाइदिने गरिन्छ । तिहारमा मखमली, दूबो र सयपत्री मालाको विशेष महत्व छ। मखमली कहिल्यै नओइलाउने, दूबो सधैं हरियो रहिरहने र सयपत्रीको रंग कहिल्यै नउड्ने भएकाले भाइटीकामा तिनै मालाको प्रयोग गर्ने चलन छ ।

त्यसपछि दिदीबहिनीहरुले सँघारमा ओखर फुटाउने चलन छ। ओखर फुटेजस्तै शत्रुहरु पनि टुक्रा–टुक्रा भएर नास हुने विश्वास छ। भाइटीका लगाउने विधि र परम्परा नेपालका विभिन्न स्थानमा फरक–फरक छ । तर यसको महत्व भने एउटै हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट