३ महिनाको योजनापछि माओवादी नेता बर्तौलामाथि खुकुरी प्रहार, इलामबाट पक्राउ परे आरोपी

काठमाडौं– तीन महिनाअघि देखि हत्या योजना बनाएर नेकपा माओवादी केन्द्रका बागमती प्रदेश कमिटी सदस्य जनक बर्तौलामाथि खुकुरी प्रहार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौंको बानेश्वरमा बर्तौलामाथि आक्रमण खरेर फरार भएका उनीहरुलाई इलामको पशुपतिनगर क्षेत्रबाट पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा बाँकेको कोहलपुर नगरपालिका–१० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेचीनगर नगरपालिका–८ मेचेका ३४ वर्षीय कैलास भन्ने टेकबहादुर प्रधान र कोहलपुर नगरपालिका–१ कौशीलाका २६ वर्षीय आशिष लामिछाने मगर छन्।

२२ कात्तिकमा काठमाडौं महानगरपालिका–१० बानेश्वरस्थित आई प्लेक्स मलनजिकै बर्तौलामाथि आक्रमण भएको थियो। दुई जना अज्ञात व्यक्तिहरूले बर्तौलामाथि खुकुरी प्रहार गरी फरार भएका थिए।

अनुसन्धानको क्रममा प्रहरीले उनीहरूको पहिचान गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार बर्तौलामाथि सांघातिक आक्रमण गर्न तीन महिना अघिदेखि नै योजना बनेको खुलेको छ। उनीहरूले एउटा होटलमा बसेर योजना बनाएको खुलेको छ।

बर्तौलाको दैनिक गतिविधिमाथि उनीहरूले निगरानी गरेका थिए। पीडित बस्ने घर, कार्यालय, जिम सबै ठाउँमा निगरानी गरी उपयुक्त समय र स्थानको निर्धारण गरी आक्रमण गरेको पाइएको प्रहरीले जनाएको छ।

खुकुरी प्रहार गर्न शेरबहादुर र आशिष पुगेका थिए। बर्तौलालाई शेरबहादुरले पछाडीबाट तीन पटक खुकुरीले प्रहार गरेका थिए। त्यहाँको निगरानी आशिषले गरेका थिए। शेरबहादुरले करिब पाँच सय मिटर पश्चिम भागेर एक घरभित्रको कम्पाउण्डभित्र पसेर कपडा फेरेका थिए। ती कपडा, हतियारहरू त्यहीँ फालेर उनी फरार भएका थिए।

त्यसपछि उनीहरू हिँड्दै नयाँ बसपार्क पुगेर त्यहाँबाट झापा हुँदै इलाम पुगेको अनुशन्धानबाट खुलेको छ। उनीहरूलाई इलाम पु¥याउने काम टेकबहादुर प्रधानले गरेका थिए। त्यसबापत उनले रकम लिएका थिए।

पक्राउ परेका व्यक्तिहरू पहिले पनि पटक–पटक आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट