लप्सिफेदीमा प्रहरीमाथि आक्रमणः डीएसपीसहित तीन जना घाईते, ४ जना पक्राउ

काठमाण्डौं– काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीमाथि आक्रमण भएको छ। स्थानीयको आक्रमणमा डीएसपी देवराज राईसहित तीनजना सुरक्षाकर्मी घाइते भएका छन् ।
सबस्टेसन निर्माण र सुरक्षा पोष्ट स्थापना गर्न खोज्दा सुरक्षाकर्मी माथि स्थानीयले आक्रमण गरेका हुन् । नेपाल विद्युत प्राधिकरणले शंखरापुर नगरपालिका–३ स्थित बोझेनीमा तामाकोशी तथा सुनकोशी नदी र तिनका सहायक खोलाहरुमा निर्माण भएका तथा हुने जलविद्युत आयोजनाको विद्युत काठमाडौं उपत्यकामा ल्याउन र स्थानीय रुपमा आपूर्तिका लागि ४००÷२२०÷१३२÷११ केभी सबस्टेसन निर्माण गर्न लागिरहेको छ।
सबस्टेसनको सुरक्षाका लागि जिल्ला सुरक्षा समितिको बैठकबाट डीएसपीको नेतृत्वमा सशस्त्र प्रहरीको बेस क्याम्प र नेपाल प्रहरीको पोष्ट राख्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा शुक्रबार बेसक्याम्प स्थापना गर्न जाँदा स्थानीयले रुख ढालेर बाटो अवरुद्ध गर्नुका साथै सुरक्षाकर्मीहरुलाई ढुङ्गामुढा गरेका हुन।
सुरक्षाकर्मीमाथि आक्रमणमा संलग्न स्थानीय जयमान वाइवा, सूर्यमान तामाङ, सुनबहादुर वाइवा, हर्कमान वाइवासहित चार जनालाई पक्राउ गरिएको छ।