४ हजार ५ सय शिक्षकको दरवन्दी रिक्त हुँदै, पुसभित्र नयाँ विज्ञापन

काठमाडौं– शिक्षक सेवा आयोगले पुस महिनाभित्र ४ हजार ५ सय शिक्षक दरबन्दी खुला गर्ने गरी प्रक्रिया अघि बढाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ५ दिनअघि चैतसम्ममा देशैभरका शिक्षकको रिक्त हुने दरबन्दी सार्वजनिक गरेपछि आयोगले दरबन्दी खोल्ने तयारी गरेको हो।

केन्द्रको तथ्यांकमा काठमाडौं, सप्तरी, महोत्तरी, कपिलवस्तु र हुम्लाको विवरण यकिन भएको छैन। विवरण स्पष्ट नभएका यस्ता जिल्लाका हकमा केन्द्रले एक साताको म्याद दिएर तथ्याङ्क पठाउन निर्देशन दिएको छ।

केन्द्रले सार्वजनिक गरेको रिक्त शिक्षक विवरणअनुसार प्राथमिक तहमा सबैभन्दा बढी ३ हजार १ सय ७९, निम्न माध्यामिक तहमा ७ सय ४४ र माध्यमिक तहमा ४ सय २ पद रिक्त छ । प्रदेशगत रूपमा सबैभन्दा बढी वागमती प्रदेशमा १ हजार २ सय ४२ दरबन्दी खाली हुने छ।

जिल्ला शिक्षा समन्वय इकाइ काठमाडौैंले प्राविको दरबन्दी शून्य देखाएको छ भने निमावि ५, मावि २ मात्रै दरबन्दी रिक्त भएको विवरण केन्द्रमा पढाएको छ। सुदूरपश्चिममा सबैभन्दा कम ३ सय ३१ शिक्षक पद रिक्त हुने देखिएको छ।

कोशीमा ९ सय ९३, मधेसमा ३ सय ४९, गण्डकीमा ७ सय ७०, लुम्बिनीमा ५ सय ६४ र कर्णालीमा १ सय ७६ दरबन्दी रिक्त हुने भएको छ । केन्द्रका अनुसार माध्यमिक तहमा नेपालीमा ६३, अंग्रेजी ७०, गणित ८७, विज्ञानमा १ सय ९ र सामाजिकमा ४७ जनाको दरबन्दी खाली हुने निश्चित भएको छ ।

निमावितर्फ नेपालीमा १ सय १३, अंग्रेजी १ सय ६४, गणितको १७, विज्ञान १ सय ६९ र सामाजिक १ सय १९ दरबन्दी खाली हुनेभएको छ। केन्द्रले रिक्त र रिक्त हुने जिल्लाको विवरण तत्काल उपलब्ध गराउन सबै इकाईलाई परिपत्र गरेको छ।

सबै इकार्ईले चैतसम्ममा अवकास हुने शिक्षकको विवरण तयार गरी आयोगमा पठाएपछि आयोगले सोही आधारमा खुला पदको लागि विज्ञापन खोल्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट