सुत्केरी र शिशुको मृत्यु भएपछि लमजुङ अस्पतालमा तोडफोड, प्रहरीले अश्रुग्याँस र लाठी वर्सायो

काठमाडौं– लमजुङको बेंसीसहरस्थित लमजुङ अस्पतालमा विहिवार विरामीका आफन्तले तोडफोड गरेका छन्। अस्पताल भर्ना भएकी सुत्केरी र शिशुको मृत्यु भएको विषयलाई लिएर बुधबार मेसु विशाल तिवारीमाथि कुटपिट भएको थियो। विहिवार अस्पतालमै तोडफोड भएको जनाईएको छ।

पीडित परिवारका आफन्तले अस्पतालको मुख्य गेटमा रहेको डिजिटल बोर्ड, अस्पतालको झ्यालका सिसा र बत्तीहरु फुटाएको अस्पतालले जनाएका छन। प्रदर्शनकारीको ढुंगा प्रहारबाट २ जना प्रहरीसमेत घाइते भएका छन् । उनीहरुको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सुत्केरी र शिशुको मृत्यु भएको विषयमा छानबिन गर्न गठित टोली आउन ढिलाइ गरेको भन्दै उनीहरुले टायर बालेर नाराबाजी गर्दै अस्पतालको गेटमा ढुंगा हानेका हुन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको छ ।

८ राउन्ड अश्रुग्यास र लाठीचार्जपछि प्रदर्शनकारीहरु तितरवितर भएका छन्। अस्पतालको सुरक्षार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ। प्रशासन चोकबाट अनावश्यक व्यक्तिहरु अस्पतालतर्फ जान रोक लगाएको इन्स्पेक्टर थानेश्वर चपाईले बताए । प्रहरीलक्षित टायरको आगो फाल्ने र ढुंगा बर्साउन थालेपछि स्थिति नियन्त्रणमा लिनुपरेको बताए ।

शल्यक्रियाबाट निकालिएको शिशु मृत रहेको र उपचारको क्रममा सुत्केरीको पनि मृत्यु भएपछि पीडित पक्षले लमजुङ अस्पतालमा बुधबार पनि प्रदर्शन गरेका थिए । मर्स्याङ्दी गाउँपालिका–९, पामचोक दलितबस्तीकी २६ वर्षीया गर्भवती शोभा विक र उनको शिशुको उपचारको क्रममा मृत्यु भएको थियो।

विकलाई सोमबार लमजुङ अस्पतालमा भर्ना गरिएको थियो। मंगलबार दिउँसो शल्यक्रियामार्फत शिशु निकाल्दा मृत जन्मिएको थियो। सुत्केरी आमाको रगत निरन्तर बगेको र नरोकिएपछि मंगलबार साँझ पौने ६ बजेतिर चितवन मेडिकल कलेज रिफर गरिएको थियो। अस्पताल पुग्नेबित्तिकै विकको मृत्यु भएको थियो।

घटना छानबिन गर्न गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काको संयोजकत्वमा ६ सदस्यीय छानबिन तथा अध्ययन समिति गठन भएको छ । समितिले एक साताभित्र प्रतिवेदन बुझाउने स्थानीय प्रशासनले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट