नेताको हैसियत प्रदर्शनले रास्वपामा बबाल, महामन्त्रीले प्रश्तावनाको दस्तावेज नै मिल्काए

काठमाडौं– नीति दस्तावेज निर्माणका लागि गठित प्रतिनिधिमण्डलमा तीन जना नेताले आफ्नो हैसियत बढी देखाउन खोजेपछि रवि लामिछाने नेतृत्वको रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) भाँडभैलो भएको छ। विवाद वढ्दै गएपछि महामन्त्री मुकुल ढकालले दस्तावेज नै फालेर हिडेका छन्।
११ मंसिरदेखि १३ मंसिरसम्म महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय र संसदीय दलको बैठकले दस्तावेज निर्माणका लागि १७ सदस्यीय प्रतिनिधिमण्डल बनाएको थियो। जस्मा उपसभापति स्वर्णिम वाग्ले, महामन्त्री ढकाल, तीन सहमहामन्त्रीहरु कविन्द्र बुर्लाकोटी, सुमना श्रेष्ठ, विपीनकुमार आचार्य, सहप्रवक्ता मनिष झा र रमेश प्रसाईं, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार, नेताहरु शिशिर खनाल, सोविता गौतम, डा. तोसिमा कार्की, गणेश कार्की, हरि ढकाल, कमल सुवेदी, गणेश पराजुली, क्रान्तिशिखा धिताल र शंकर श्रेष्ठ समावेश थिए।
राजनीतिक दस्तावेजको प्रस्तावनालाई अन्तिम रुप दिन १७ जनाको टोलीमा छलफल भयो। १७ जनामा करिब सहमति भइसकेको प्रस्तावनालाई उपसभापति वाग्ले, महामन्त्री ढकाल र संसदीय दलका प्रमुख सचेतक परियारले अन्तिम टुंगो लगाए।
प्रस्तावनाको माथिल्लो भागमा वाग्ले ढकाल र परियारले माथिल्लो भागमा हस्ताक्षर गरे। त्यसपछि महामन्त्री ढकालले बाँकी १४ जना सदस्यलाई प्रस्तावनाको तल्लो भागमा हस्ताक्षर गर्न लगाए। त्यसपछि सांसद गणेश पराजुलीले ‘सबैको योगदान बराबर भएपछि तीन जनाको मात्रै माथिल्लो भागमा हस्ताक्षर किन ?’ भन्दै प्रश्न उठाए।
अन्य १३ जना सदस्यले उनको कुरामा साथ दिए। त्यसपछि विवाद सुरु भयो। विवाद सुरु भएपछि ढकाल ‘हस्ताक्षर नगर्ने भए नगर्नुस’ भन्दै प्रश्तावना भुइँमै फालेर हिँडे। त्यसपछि बाँकी १४ जनामध्येबाट एक जनाले माथिल्लो भागमा र अन्य १३ जनाले तल्लो भागमा हस्ताक्षर गर्ने सहमतिपछि सहप्रवक्ता रमेश प्रसाईंले हस्ताक्षर गरेको रास्वपा स्रोतले जनाएको छ।
ढकालले भने उक्त घटना जिस्किने तहमा मात्रै भएको दाबी छ। १७ जनाले नै हस्ताक्षर गरेर सभापतिलाई प्रस्तावना बुझाएको उनले वताए।
हस्ताक्षरसहितको प्रस्तावना भने सार्वजनिक गरिएको छैन।