मैदानमै रेफ्री कुटिएपछि टर्किस सुपर लिगका बाँकी सवै खेल स्थगित
काठमाडौं– टर्किस सुपर लिगको सोमबार भएको खेलामा टर्कीमा एक क्लबका अध्यक्षले मैदानमै पसेर रेफ्रीलाई मुक्का हानेपछि बाँकी सवै खेल स्थगित भएको छ।
शीर्ष श्रेणी अन्तर्गत एमकेई अन्कारगुकु र काएकुर रिजेस्पोरबीच भएको खेलमा एमकेई अन्कारगुकुका अध्यक्ष फारुक कोकाले मैदान प्रवेश गर्दै रेफ्री हालिल उमुत मेलरलाई मुक्का प्रहार गरेका थिए।
९७औं मिनेटमा काएकुरले बराबरी गोल गरेपछि कोका मैदान प्रवेश गरेका थिए र रेफ्री विरुद्ध उत्रिएका थिए। मुक्का प्रहार भएपछि रेफ्री मेलर मैदानमै ढलेका थिए।
उनी घाइते छन्। उनको उपचारमा संलग्न फिजिसियन डाक्टर मेहमेत युरोबुलुटले ठूलो चोट भने नरहेको बताएका छन्।
३७ वर्षीय मेलर टर्की फुटबलका उत्कृष्ट रेफ्रीमध्येका एक हुन्। फिफाका लागि अन्तर्राष्ट्रिय खेल खेलाएका उनी युइएफएका इलाइट रेफ्री लिस्टमा पनि छन्।
मेलरले कुटाई खाएपछि लिगका सबै खेल तत्कालको लागि स्थगित गरिएको टर्की फुटबल संघका अध्यक्ष मेहमेत बुयुकेक्सीले बताए। यो घट्ना टर्की फुटबलका लागि लज्जास्पद भएको उनले प्रतिक्रिया दिएका छन्।