अमेरिकाबाट नेपालमा गाँजा तस्करी, विमानस्थलमा पक्राउ पर्यो ५५ किलो गाँजा
काठमाडौं– अमेरिकाबाट तस्करी भएर आएको ५५ किलो गाँजा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेको छ।
शुक्रबार राति १०८ वटा कार्टुनमा प्याक गरेर अमेरिकाबाट नेपाल ल्याइएको गाँजा विमानस्थलमा पक्राउ परेको हो।
गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ। भन्सार प्रमुख प्रशासक टोकराज पाण्डेका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो।
त्यस क्रममा एउटा फर्मको नाममा ल्याइएको कार्टुनहरुमाथि शंका लागेर चेक गर्दा गाँजा भेटिएको उनले वताए।
उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई जिम्मा लगाएको छ।
यसअघि अमेरिकाबाट हुलाकमार्फत केही ग्राम लागूऔषध नेपाल पठाउने गरेको भेटिएको थियो। तर यति ठूलो मात्रामा एकै पटक गाँजा अमेरिकाबाट ल्याइएको भने पहिलो पटक भएको विमानस्थलका अधिकारीहरु बताउँछन्।