त्यो जनवादी विवाह, यो नातिनीको विवाह

राजविराज– आफूलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको ‘सुप्रिमो’ र सर्वहारा क्रान्तिको ‘नायक’ बताउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी नानिनीको विवाह अहिले चर्चामा छ। दाहाल लाईनमा भएका र उनका समर्थक वाहेक सवैले यो विवाहको आलोचना गरेका छन्।

प्रधानमन्त्री समेत रहेका दाहालकी नातिनी तथा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालकी छोरी प्रतिभा पाठकको शुक्रबार गोरखाका विज्ञानबाबु रेग्मीसँग भव्य समारोहबिच विवाह सम्पन्न भएको हो। यो विवाहलाई लिएर माओवादी केन्द्रकै नेताहरुले पनि आलोचना गरेका छन्।

हाल स्वीजल्याण्ड रहेका अर्थशास्त्री रेग्मीले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’मा स्नातकोत्तर गरेका छन्। प्रतिभाले पनि बेलायतबाट उच्चशिक्षा लिएकी हुन्।

विवाह समारोहमा प्रधानमन्त्री दाहाल त सरिक हुने नै भए। त्यस वाहेक राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सरकार मन्त्रीहरू, उच्च तहका कर्मचारीहरू, संवैधानिक प्रमुख, पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न दलका शीर्ष नेताहरू लगायत सहभागी भएका थिए। खर्चिलो निमन्त्रणा कार्डदेखि मण्डपमा सझाइएको भड्किलो व्यवस्थापनलाई लिएर धेरैले दाहाल र उनकी छोरी रेनुमाथि प्रश्न उठाएका छन्।

नेपाल ट्रस्टको नाममा रहेको जग्गामा यति समूहले भाडामा लिएर सञ्चालन गरेको रिसोर्टमा भव्य समारोहबिच विवाह सम्पन्न भएको थियो। हुनतः विवाह नितान्त निजी विषय भएकाले विवाह कसरी गर्ने भन्ने विषय उनीहरुको सरोकारको विषय भएपनि बहालवाला प्रधानमन्त्री, त्यसमाथि अरुलाई जनवादी विवाहको भाषण दिने अध्यक्षकै नातिनी भएका कारण प्रतिभाको विवाहको आलोचना भएको हो।

भड्किलो विवाहप्रति व्यंग्य गर्दै माओवादका नेता लेखनाथ न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस राख्दै भनेका छन्, ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट सुरु भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन !’

माओवादीका अर्का नेता तथा योङ कम्युनिस्ट लिगका फ्याक्सन इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनि भड्किलो विवाहप्रति असन्तुष्ट पोखे। यस्ता किसिमका विवाहले समाज र पार्टीमा नकारात्मक असर पर्नेतर्फ आफूले नेतृत्वको ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएको उनले गुनासो पोखेका छन्।

नातिनी मात्रै होईन, दाहालकै जीवन शैली र व्यवहारलाई लिएर पनि नेता÷कार्यकर्ताले प्रश्न उठाउँदै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट