प्रचण्डलाई सांसदले सोधेः एनसेल प्रकरणमा तपाईंको परिवार जोडिएको छ कि छैन ?

काठमाडौँ — सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई एनसेल प्रकरणमा तपाईको परिवार संलग्न छ कि छैन ? भन्दै प्रश्न गरेका छन्।

प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेलको सेयर खरिदबिक्रीको विषयमा छलफल चल्दा प्रधानमन्त्रीलाई सांसदहरूले यस्तो प्रश्न गरेका हुन।

प्रधानमन्त्री दाहाल र सूचना तथा संचार प्रविधिमन्त्री रेखा शर्मा उपस्थित राज्यव्यवस्था तथा सुशासन समितिको मंगलबारको बैठकमा संचारमन्त्री र प्रधानमन्त्रीले एनसेल सेयर खरिदबिक्रीबारे धारणा राखेपछि सांसदहरूले प्रश्न सोधेका थिए।

सत्तारुढ कांग्रेस सांसद अजयकुमार चौरसियाले एनसेलको खरिद र बिक्रीको मूल्यमा ठूलो अन्तर रहेको बताए । उनले प्रश्न गरे, ‘एनसेल खरिदबिक्रीका धेरै कुरा प्रधानमन्त्रीको परिवारसँग जोडिएर आएको छ, छानबिन होस् ।’

कांग्रेसकै सांसद अम्बिका बस्नेतले एनसेल खरिदबिक्रीमा नेताको परिवार जोडिएको कुरा जोडिएको सार्वजनिक भइरहेकाले त्यस तहबाट पनि वास्तविकता छानबिन हुनुपर्ने बताए ।

कांग्रेस सांसद इश्वरी न्यौपानेले प्रधानमन्त्रीको परिवारसँग जोडिएपछि गणतन्त्रमाथि प्रहार भयो भनेर बचाउ गर्ने कि छानबिन गर्ने भनेर प्रश्न गरिन।

प्रमुख प्रतिपक्ष एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले एनसेल खरिदका क्रममा प्रधानमन्त्रीको परिवारलाई जोडिएको विषयमा प्रधानमन्त्री दाहालसँग जिज्ञासा राखेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा चौधरीले एनसेल खरिदबिक्री प्रकरणमा प्रधानमन्त्रीकी छोरी तथा स्वकीय सचिव गंगा दाहाल र पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको छोरालाई जोडिएको विषयलाई ख्याल गर्नुपर्ने बताइन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट