एनसेल प्रकरणः प्रचण्ड सिंगापुर जाँदा २ पटक खरिदकर्ताको घरमै वसेको खुलासा

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहालले एनसेलको ८० प्रतिशत शेयर किनेका सतीशलाल आर्चायसँग आफ्नो निकट सम्बन्ध रहेको स्वीकार गरेका छन्।

राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले आफ्नो श्रीमती बिरामी भएर उपचारका लागि सिंगापुर गएको बेला उनकै घरमा बसेको समेत स्वीकारे। २ पटक सिंगापुर जाँदा उनकोमा बसेको दाहालको भनाई थियो।

दाहालले व्यवसायी आचार्यसँग आफ्नो मात्र नभई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि राम्रै चिनजान रहेको बताए। ‘ती मान्छे सबैलाई चिन्छु । के भ्रम नहोस् भने मलाई थाहै छैन, म अननोन छु भन्ने होइन । मेरी श्रीमती बिरामी भएको बेला सिंगापुरमा दुईचोटि गएको छु, तिनै साथीहरुकहाँ बसेको पनि छु’, आचार्यको नाम नलिई दाहालले भने, ‘शेरबहादुर देउवाजी जाँदा पनि बस्नुभएको छ। केपी ओली जाँदा पनि बस्नुभएको छ। हाम्रो बीचमा कुरा पनि हुन्छ।’

बेलायतमा दर्ता भएको आचार्यको कम्पनी स्पेक्ट्रलाइट युके लिमिटेडले एनसेलमा रहेको आजियटाको ८० प्रतिशत शेयर किन्ने घोषणा भएपछि उनको नेपालका उच्च राजनीतिक तहका ब्यक्तीहरुसँगको सम्बन्ध सार्वजनिक भएको थियो।

एनसेलको २० प्रतिशत सेयर आचार्यको श्रीमती भावना सिंह श्रेष्ठको कम्पनीसँग छ। आचार्यकी श्रीमती नेपाली हुन् भने आचार्य सिंगापुरका नागरिक हुन्। आजियाटाले १ अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको यो सेयर हाल ५० करोड अमेरिकी डलरमा खरिद गरेको सूचना सार्वजनिक गरिएको छ।

नयाँ सम्झौतासँगै एनसेल पूर्ण रुपमा सतिशलाल र उनको परिवारको स्वामित्वमा आएको छ। एनसेलको मुद्दा लिएर सर्वोच्च अदालतसम्म गएका स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सेयर खरिद–बिक्रीमा प्रधानमन्त्री र कांग्रेस सभापति शेरबहादुर देउवा तथा उनको परिवारलाई समेत मुछ्दै आएका छन्।

२० मंसिरमा बसेको प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति बैठकमा सिंहले भनेका थिए, ‘यसमा (एनसेल बिक्री) नेपाल सरकार नै संलग्न छ। ०८६ पछि नेपाल सरकारको स्वामित्वमा आउन नदिन राजनीतिक पात्र, कर्मचारीतन्त्र र माफिया पनि क्रियाशील छ।’

१९ मंसिरमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सिंगापुरका एक व्यवसायीसँग नेपालका बहालवाला प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीको राम्रो हिमचिम रहेको भनी एक प्राज्ञले सुनाएको बताएका थिए। ती व्यवसायी को हुन् भन्ने नखुलाएका थापाले प्रधानमन्त्रीको मंगलबारको अभिव्यक्तिपछि भने, ‘हामी शीर्ष नेताको सम्बन्धहरुबारे आशंका गर्थ्यौं, प्रधानमन्त्रीले आँट गरेर गएको स्वीकार गर्नुभयो।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट