फुर्सदमा सरकारः प्रधानमन्त्री सम्धी भेटघाटमा, मन्त्री व्युटिपार्लरको वार्षिकोत्सवमा

काठमाडौं– ‘आफू उपलब्धिमुलक काममा दत्तचित्त हुने र फजुल काममा समय नखर्चिने’ बताएकै भोलीपल्ट सेनाको हेलिकप्टर लिएर सम्धी भेटघाटमा पुगेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना भईरहेका वेला उनकै एक जना मन्त्री ब्युटी पार्लरको वार्षिकोत्सवमा पुगेका छन्।

नेपाल सरकारकी संस्कृति तथा पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बुधबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको एक ब्युटी पार्लरको वार्षिकोत्वसको उदघाटन गरिन। राजनीतिज्ञदेखि व्यवसायी र पत्रकारहरूसम्को उपस्थिति रहेको उक्त कार्यक्रममा बहालवाला मन्त्रीनै उपस्थित भएपछि आलोचना भईरहेको छ।

मन्त्रीहरू ब्युटिपार्लरको उद्घाटन गर्दै हिँडेपछि मन्त्रीले गर्ने काम कसले गर्ने ? भन्दै सामाजिक सञ्जालमा प्रश्न उठाईएको छ। राज्यमन्त्री शिर्पालीले उद्घाटन गरेको ब्युटिपार्लर नेपालको चर्चित ब्युटिसियन सुष्मा महराको हो। उनको निम्तोमा राज्यमन्त्रीसहित राप्रपाका सांसद ज्ञानेन्द्र शाही, पूर्वसांसद नवीना लामा लगायतको उपस्थिति थियो।

उसो त, प्रधानमन्त्री दाहालले आफ्नो तेस्रो कार्यकाल सुरू गरेको सुरूवाती दिनमा सामान्य उद्घाटन, शिलान्यास र सभा समारोहमा सहभागी नहुने बताएका थिए। आफूमात्रै होइन आफ्नो नेतृत्वमा रहेको मन्त्रिपरिषद्का अन्य सदस्यहरूलाई पनि उद्घाटन र शिलान्यासजस्ता कार्यक्रममा सहभागी नहुन भनेका थिए।

तर, आफ्नै अडान र प्रतिबद्धताविपरीत प्रधानमन्त्री दाहाल आफ्नो कार्यकालको एक वर्ष अवधिमा त्यस्ता आयोजना शिलान्यास र उद्घाटन गर्न मुलुकका विभिन्न स्थानमा पुग्ने गरेका छन्। यसको माओवादी केन्द्रका नेतालगायत गठबन्धनका नेताहरूले आलोचना गर्ने गरेका छन्।

राष्ट्रिय समस्या एकातर्फ राखेर देशको कार्यकारी प्रमुख सामान्य आयोजना उद्घाटन गर्न जानु गलत हुने भन्दै आलोचना हुन थालेपछि उनले पटक पटक मन्त्रीहरुलाई त्यसो नगर्न निर्देशन दिदै आएका पनि छन्।

तर, आफैं आफ्नो प्रतिबद्धता र अडानमा कायम नरहेपछि उनले दिएको निर्देशन र गरेको आग्रह मन्त्रिपरिषद्का अन्य सदस्यहरूले के मान्थे? हुँदा हुँदा वहालवाला मन्त्री नै ब्युटि पार्लरको कार्यक्रममा सहभागि हुन थालेपछि भने सर्वसाधारण आश्चर्यमा पर्न थालेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट