बालकुमारी प्रकरणः मन्त्री ज्वालाका पीएसओको खेलाँचीले दुई जनाको ज्यान गयो
काठमाडौं– बालकुमारीमा शुक्रबार भएको युवाहरुको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको प्रकरणमा सवैभन्दा ठुलो कमजोरी भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ (अंगरक्षक) बोधराज दनुवारको देखिएको छ।
सामान्यतः भीआईपी आवागमनका क्रममा प्रस्थान गर्नुअघि बाटो र गन्तव्यको सुरक्षा अवस्थाबारे अंगरक्षकले जानकारी लिनुपर्छ। सुरक्षा संयन्त्रले मुख्य मार्गमा कुनै तनाव वा अवरोध भएको र हुन सक्ने देखेमा वैकल्पिक मार्ग सुझाउने गर्छन्। वैकल्पिक मार्ग पनि सहज नभए यात्रा रोक्न लगाउन पनि सक्छन्।
मन्त्री ज्वाला शुक्रबार पार्टी बैठकबाट सिंहदरबारस्थित मन्त्रालय जान लाग्दा भने अंगरक्षकले सेक्युरिटी क्लियरेन्स नलिएको पाइएको छ। उपत्यका प्रहरी स्रोतका अनुसार, अंगरक्षकले सेक्युरिटी क्लियरेसन्स लिएको भए वैकल्पिक मार्गबाट मन्त्रीको सवारी चल्न सक्थ्यो।
उनकै कमजोरीका कारण घट्ना हुन पुगेको कतिपय प्रहरी अधिकारीहरु वताउँछन्। उनीहरुका अनुसार ग्वार्कोस्थित ईपीएस कार्यालयमा विहानैदेखि करिव ३ हजार जनाको भिड जम्मा भएको थियो।
प्रहरीको भाषामा ‘नेतृत्वविहीन, अत्यन्तै उच्छृंखल, २० देखि ३० वर्ष उमेर समूहका, आवेदन फाराम भर्न नपाइने भन्ने मानसिकताले गर्दा बिहानैदेखि ईपीएस कार्यालयसँग रिसईबी साँध्ने मनसायले भेला भएको’ उक्त भिड ११ बजेसम्म संयमितै थियो।
यो सवै कुरालाई ध्यान दिएर प्रहरीले भिडलाई लखेट्दै बालकुमारीतिर ल्याएको थियो। प्रहरीले तीनतिरबाट घेरा हालेर बालकुमारी र बागमती करिडोरलाई प्रदर्शनकारीलाई भाग्न सक्ने गरी खुला छाडिएको थियो। यति वेलासम्म भिडमा करिव ६ हजारको संख्या पुगिसकेको थियो।
यता, नजिककैको पार्टी प्यालेसमा ३ दिनदेखि एकीकृत समाजवादीको बैठक बसिरहेको थियो। जब १२ बजेतिर मन्त्री ज्वाला पार्टी बैठकबाट निस्केर सिंहदरबारतिर हुइँकिए, झण्डाला मन्त्रीको गाडी भिडको निशानामा परिहाल्यो। मन्त्रीको गाडी जलाउन थालेपछि प्रहरीले १२४ सेल अश्रुग्यास, आवाज मात्र आउने गरी १८ राउन्ड हवाई फायर र गोलीसहितको फायर २० राउन्ड खोल्यो।
प्रहरीको गोली लागी अछामको चौरपाटी गाउँपालिका १ बस्ने वर्ष २१ का वीरेन्द्र शाहको मृत्यु भयो। उनको नाइटोमुनि गोली लागेको छ। दैलेखको महावु गाउँपालिका–६ घर भई हाल भक्तपुर बस्ने वर्ष २३ का सुजन राउतको पनि सोही घटनामा मृत्यु भएको छ। तर उनलाई गोली भने लागेको छैन।
यदि मन्त्रिका अंगरक्षकले समयमै होस पुर्याएको भए ज्यानै जानेसम्मको घट्ना सम्भवत हुँदैनथ्यो भन्ने धेरैको अनुमान छ।
यता, दुई जनाको मृत्यु भएपछि अहिले सरकारी निकायमा आफू जिम्मेवारी नलिने र अर्काको थाप्लोमा सम्पूर्ण जिम्मेवारी हाल्ने खेल सुरु भएको छ। प्रधानमन्त्रीले गृहमन्त्रीलाई, गृहमन्त्रीले प्रहरी नेतृत्वलाई, प्रहरी नेतृत्वले जिल्ला तहका अधिकारीलाई र ती अधिकारीले अझै तल्लो तहलाई दोषी देखाएर आफू चोखो देखिने प्रयास गरिरहेका छन्।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गर्दै फिल्डमा खटिएका डीएसपी उमेश लम्साल र मन्त्री ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बनको निर्णय गरेका थिए। ईपीएस कोरिया शाखाका प्रमुख (निर्देशक) गुरुदत्त सुवेदीलाई पनि निलम्बन गरिएको छ।
त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितलाई गृह तानिएको छ भने प्रहरी प्रमुख सिद्धिविक्रम शाहलाई हेड्क्वाटर तानिएको छ। प्रहरीभित्र यस घटनाको छानबिनका लागि प्रहरी नायब महानिरीक्षक लालमणि आचार्यको नेतृत्वमा समिति बनाइएको छ।
यसरी हेर्दा फिल्डमा खटिने प्रहरी कर्मचारीमाथि दोष थोपरेर उपल्ला तहमा रहेकाहरूले फेस सेभिङ खोजेको देखिन्छ।