मन्त्रीसँग ठाकठुक परेपछि सञ्चार सचिव राउत नेपाल ट्रस्टमा जाकिए
काठमाडौं– मन्त्री रेखा शर्मासँग ठाकठुक परेपछि सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउतको सरुवा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सञ्चार सचिवको सरुवा गर्ने निर्णय गरेको हो।
राउतको नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरीएको छ भने सञ्चार मन्त्रालयमा रामकृष्ण सुवेदीलाई लगिएको छ। नेपाल ट्रष्टको कार्यालय सचिव थन्क्याउने थलोका रुपमा चिनिन्छ।
राउत १० महिनामै सरुवा भएका हुन्। उनी मधेश प्रदेशको प्रमुख सचिवबाट गत चैतमा सञ्चार मन्त्रालयमा सरुवा भएका थिए। यो अवधिमा सञ्चारमन्त्री शर्मासँग राउतको सम्बन्ध त्यति सुमधुर नरहेको कर्मचारीहरु वताउँछन्।
मन्त्रीले राउतको कार्यशैली मन नपराएको र नेपाल टेलिकमको नयाँ बिलिङको ठेक्कामा दुईबीच टसल परेपछि सरुवाको निर्णय भएको हो। टेलिकमको विलिङको ठेक्का आह्वान गर्ने अन्तिम समयमा मन्त्री शर्माको हस्तक्षेपले टेन्डर प्रक्रिया नै रोकिएको स्रोत बताउँछ।
टेलिकमका अध्यक्ष सञ्चार सचिव हुन्। आफू अध्यक्ष रहेको संस्थाको ठेक्कामा मन्त्रीले हस्तक्षेप गरेको भन्दै राउत मन्त्रीसँग चिढिएका थिए। पुरानो बिलिङ प्रणालीका कारण टेलिकमको सेवा पटकपटक अवरुद्ध भएको र ठूलो नोक्सानी बेहोर्नुपरेको भन्दै टेलिकम व्यवस्थापन जसरी पनि नयाँ बिलिङ प्रणालीको ठेक्का आह्वान गर्ने मुडमा थियो।
तर, सञ्चारमन्त्री शर्माको अस्वाभाविक चासो र हस्तक्षेपका कारण प्रक्रिया रोकिन पुगेको हो। करिब ४ अर्ब ६७ करोड रुपैयाँको ठेक्का मन्त्रीको सचिवालयले चिनियाँ कम्पनीलाई दिलाउन जोडबल गर्दै आएको छ। मन्त्री शर्माको चाहना अनुसार चिनियाँ कम्पनीले ठेक्का पाउने गरी बिलिङको टेण्डर आह्वान गर्न नमानेको कारबाहीस्वरुप राउतलाई सरुवा गरिएको मन्त्रालय स्रोतले बताएको छ।
सुवेदी भने अहिले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा छन्। उनी माओवादी केन्द्र नजिकका मानिन्छन्।