हिन्दी भाषामा ‘प्रदेश गान’ सार्वजनिक भएपछि मधेशमा सुरु भयो विवाद

जनकपुर– ५ माघमा मधेश सरकारले आयोजना गरेको ‘बलिदानी दिवस’को कार्यक्रममा सार्वजनिक भएको एउटा गीत विवादमा परेको छ। ‘मधेस गान’ भन्दै सार्वजनिक भएको गीत हिन्दी भाषामा छ।

यो गीत पहिला मैथिली भाषामा लेखिएको भएपछि पछि हिन्दीमा रुपान्तरण गरेर भीडीयो पनि तयार गरिएको छ। यो गीत मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापरी ‘भ्रमर’ ले लेखेका हुन। गीतको बोल यस्तो छ– ‘मधेस है अपनी आनबान, जीवनधारा है मधेस, मधेस मे बस्ती जान हमारी, प्राण से प्यारा मधेस, मधेस हमारा जिने का मक्सद, रगरग बसा मधेस, मधेस है अस्तित्व हमारा, धर्मा–कर्मा मधेस । जय मधेस, जय मधेस ।’

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथी रहेको कार्यक्रममा सार्वजनिक गरिएको यो गीत चर्चित गायक उदित नारायण झा र रविराज साहले गाएका हुन। यो गीत मधेश सरकारकै लगानीमा बनेको चर्चा छ।

सहिद प्रतिष्ठानबाट लगानी गरेर मधेश सरकारले नै गायक उदित नारायण झालाई पनि गीत गाउन तयार गरेको जनाईएको छ। गायक झाले आफु पनि मधेसकै भएको कारण आफ्नो माटो, समाजका लागि गीत गाउने भनेर पारिश्रमिक लिएका छैनन्।

तर, गीत सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी सुरु भएका छन्। पहिलो कुरा त हिन्दी भाषामा गीत तयार गरेर आफनो भाषा र संस्कृतीमाथि प्रहार गरेको भन्दै कतिपयले असन्तुष्टि जनाएका छन् भने कतिपयले भने गीतको भीडीओका विषयमा असहमति जनाएका छन्।

मुख्यमन्त्री सरोज यादवका प्रेस सल्लाहकार सीताराम अग्रहरीले नै गीतमा असन्तुष्टि जनाउँदै लेखेका छन् ‘मधेस गानको प्रस्तुतिमा मेरो आपत्ति छ है। मधेसी शान्ति प्रिय समाज हो। समानता र न्यायकै लागि विभेदविरुद्ध मधेस विद्रोह भएको हो। १५ देखि २० लाख मधेसीले शान्तिपूर्ण मानव शृंखला बनाएर राज्य सत्तालाई जगाउन खोजेकै हो।’

गीतको प्रथम फ्रेममै मधेसीले ढुङ्गामुढा गरेको दृश्य कति उचित छ ? भनेर उनले प्रश्न गरेका छन्। भीडीओमा एकै व्यक्तिलाई दोहो¥याई तेहे¥याई देखाईएकोमा पनि उनको असन्तुष्टि छ।

प्रतिष्ठानका अध्यक्ष कापडीले यो गीत सरकारको आधिकारीक गान हो की होईन भन्ने विषय आफुलाई जानकारी नरहेको बताए। आफूले मैथिली भाषामा लेखेको गीत गायक रविराज साहले कम्पोज गर्छु भनेर लगेको उनको भनाई छ। त्यसपछि यसलाई हिन्दीमा रूपान्तरण गरेर गीत नै सार्वजनिक गरेको उनले बताए।

गायक रविराज साहले भने यो मधेस सरकारको आधिकारिक गीत भएको र सरकारकै आग्रहमा आफूले तयार पारेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट