कांग्रेस नेताको आडमा गुण्डा नाईके कुमार घैंटेका सहयोगी ‘सानुभाई’ अपराधमा सकृय

काठमाडौं– अधिकांश गुण्डा नाइकेहरू आपराधिक गतिविधि छोडेर राजनीतिमा सक्रिय भईरहेका बेला प्रहरी इन्काउण्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ (कुमार घैँटे) का प्रमुख सहयोगी युवराज गुरुङ (सानुभाइ) भने अपराधिक गतिविधि विस्तार गर्नमै लागेको खुलेको छ।

गुरुङले पछिल्लो समय प्रहरी वृत्त सोह्रखुट्टे र प्रहरी वृत्त दरबारमार्गका प्रहरी अधिकारीसँग हिमचिम बढाउँदै आपराधिक क्रियाकलाप गरिरहेको खुलेको छ। कांगे्रसको तरुण दलको राजनीतिका हिँड्ने गुरुङसहितको समूहको कांगे्रसका उच्चतहका नेताहरूसँगको हिमचिमलाई पनि आपराधिक धन्दामा दुरुपयोग गरिहेको खुलेको छ।

नुवाकोट ककनी– ५ का सानुभाइ भनिने युवराज गुरुङसहितको समूहले केही आपराधिक घटना घटाएको पुष्टि पनि भएको छ। प्रहरी इन्काउन्टरमा मारिएका नुवाकोटकै घैटे समुहका गुरुङले आफै समूह बनाएर गुण्डागर्दी थालेको पाईएको छ। गुरुङसहितको समूहले शनिबार ठमेलको छाया सेन्टरमा वितण्डा मच्चाएको प्रहरीले जनाएको छ।

छायाँ सेन्टरको प्लेब्वाई क्लबको पार्किङमा सानुभाइ, शेरलाल पौडेल र नुवाकोटकै कमल तामाङले एक युवालाई मरणासन्न हुनेगरी कुटपिट गरेका छन्। उनीहरूविरुद्ध पीडित युवाले ज्यान मार्ने उद्योग मुद्दामा प्रहरी वृत्त दरबारमार्गमा उजुरीसमेत दिएका छन्। तर, उनीहरू फरार छन् ।

यसअघि २२ असारमा ठमेलस्थित क्लब ओम्नियाका सञ्चालकमाथि यो समुहले क्लबमै कुटपिट गरेको थियो। त्यतिबेला काठमाडौं प्रहरीले घटनामा संलग्न युवराज गुरुङसहित आठ जनालाई पक्राउ गरेको थियो।

त्यतिबेला प्रहरीले नुवाकोट ५ ककनीका निरज गुरुङ, नुवाकोट पञ्चकन्या गाउँपालिका–५ का कमल तामाङ, काठमाडौं टोखा नगरपालिका–१० का विक्रम अधिकारी, तनहुँ व्यास नगरपालिका– २ का ३२ वर्षीय सुवास कायस्थ, त्यहीका ३२ वर्षीय सुरज कायस्थ र शेरलाल पौडेल, रघु तामाङ तथा विनोद तामाङलाई पक्राउ गरेको थियो। उनीहरू गत साउन १० मा धरौटीमा छुटेका थिए।

गुरुङले ०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई गोली प्रहार गरेका थिए। उक्त अभियोगपछि फरार भएका उनलाई ०७२ मा प्रहरीले ‘बुलेटप्रूफ ज्याकेट’ लगाएर हिँडिरहेको अवस्थामै पक्राउ गरेको थियो। उनको साथबाट प्रहरीले लोड गरिएको पेस्तोलसमेत बरामद गरेको थियो।

सानुभाइकै समूहले ०७८ सालमा नुवाकोट निवासी निर्माण व्यवसायी जितबहादुर कार्कीमाथिसमेत आक्रमण गरेको प्रहरीको रेकर्डमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट