धनगढीका ब्यापारी अग्रवालले छोरासँग विवाद भएपछि पाँचतले घरबाट हाम फालेको खुलासा

धनगढी– धनगढीका श्रृंगार व्यापारी ५३ वर्षिय सन्तोष अग्रवालले अंशबण्डाको झगडाका कारण आफ्नो पाँच तले घरबाट हाम फालेर आत्महत्या गरेको खुलेको छ। धनगढी उपमहानगरपालिकाको बस पार्कस्थित सन्दीप स्टोरका सञ्चालक अग्रवालले बुधबार छतबाट हामफालेर आत्महत्या गरेका थिए।

अंशबण्डाको विषयमा विवाद भएपछि घरको पाचौं तलाबाट हामफालेका अग्रवालको उपचारका क्रममा नवजीवन अस्पतालमा मृत्यु भएको थियो। काठमाडौं बस्दै आएका जेठा छोरा बुधबार बिहान मात्रै घर आएका थिए।

कान्छा छोरा भने सन्तोषसँगै धनगढीमा बस्थे। उनको केही महिना अघिमात्र विवाह भएको थियो। सन्तोष वुधबार बिहान आफ्नै पसलमा काम गरिरहेका थिए। त्यहीँ पुगेर जेठा छोराले अंशबण्डाको विषयमा कुरा उठाए।

छलफलकै क्रममा विवाद भएपछि सन्तोष ‘तिम्रो आमालाई बोलाएर ल्याउँछु पख’ भन्दै पसलबाट माथि गएका थिए। त्यसपछि उनले छतबाटै हामफालेको प्रहरीले जनाएको छ। सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा अग्रवाल घरको छतमा चढेका बेला स्थानीयले त्यसो नगर्न भनेको सुनिन्छ तर उनी कसैको कुरा परवाह नगरी हाम फालेका छन्।

अग्रवाललाई परिवारका सदस्य र छिमेकीले अस्पताल लगेका थिए। उनको परिवारमा अंशबण्डा सम्बन्धी पहिल्यैदेखि विवाद रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनगढीका डीएसपी कुलदीप चन्दले अग्रवालको छतबाट हाम फालेको घटनाबारे अनुसन्धान भइरहेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट