त्रिभुवन विमानस्थलका प्रहरीले अध्यागमनका प्रमुखलाई ढोका थुनेर कुटे

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र प्रहरीबीच लफडा भएको छ। भिजिट भिसाको विषयलाई लिएर प्रहरी र अध्यागमन कर्मचारी बिच दूरी बढ्दै गएका बेला प्रहरीले अध्यागमन प्रमुख गोगनबहादुर हमालमाथि कुटपिट गरेका छन।

अध्यागमन अधिकृत छायाँलाल मोक्तानमाथि प्रहरीले हातपात गरेको विषयमा बुझ्न गएका हमाललाई प्रहरीले ढोका थुनेर कुटेको खुलेको छ। स्रोतका अनुसार विमानस्थलका एक असईले अध्यागमनका कर्मचारीमाथि हातपात गरेका थिए।

शुक्रवार बिहान करिब १२ बजेको समयमा प्रस्थान कक्ष तर्फको ड्युटी सकी विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका मोक्तानलाई मेटल डिटेक्टर भएको स्थानमा चेकजाँच गर्ने क्रममा विवाद भयो।

अध्यागमन अधिकृत मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गरेका थिए। त्यो विवादका क्रममा आफूलाई प्रहरीले कुटपिट गरेको अध्यागमन अधिकृत मोक्तानले बताए।

यसको गुनासो आएपछि अध्यागमन कार्यालय प्रमुख हमाल आफैं सीसीटीभी फुटेज हेर्न गए । प्रहरी जवानले अध्यागमन अधिकृत मोक्तानमाथि दुव्यर्वहार गरेको देखिन्छ। हमालले प्रहरी अधिकृतहरुलाई किन त्यसो गरेको भनेर प्रश्न गरेका थिए, तर प्रहरीले अध्यागमन अधिकृत मोक्तानलाई त्यही लात्ताले हाने।

अध्यागमन अधिकृत छायालालमाथि भएको कुटपिटको विषयमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले गृह मन्त्रालय र अध्यागमन विभागलाई जानकारी गराएको छ। अध्यागमन कार्यालयले अध्यागमन विभागका महानिर्देशकलाई पत्र लेख्दै घटनाबारे जानकारी गराएको हो। उक्त पत्र गृह सचिवलाई बोधार्थ गरिएको छ।

कार्यालय प्रमुख गोगन बहादुर हमाल र डीएसपी रेवतीरमण पोखरेल समेतको उपस्थितिमा सिसिटिभी हेर्ने भनी सिसिटिभी मोनिटरिङ कक्षमा जाँदा डीएसपी पोखरेल, इन्स्पेक्टर मधुसूदन विक, असई तामाङ, दर्जा नखुलेका प्रहरी कर्मचारी प्रकाश चौधरी समेतले सिसिटिभी मोनिटरिङ गर्ने कक्षमा ढोका थुनी प्रमुख अध्यागमन अधिकृत तथा अन्य अध्यागमनका कर्मचारी माथि पुनः कुटपिट गरेको कार्यालयले जनाएको छ।

सुरक्षा प्रदान गर्ने जिम्मेवार निकायका जिम्मेवार व्यक्तिहरूबाट गैर कानुनी कार्य भएको भन्दै कार्यालयले छानबिन गरी दोषी उपर हदैसम्मको कारबाही माग गर्दै पत्र नै लेखेर मन्त्रालय र विभागलाई जानकारी गराएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट