२४ वर्षमा शाखा अधिकृतको कमाई १० करोड, अकुत सम्पत्ति श्रीमतीको नाममा
काठमाडौ– भूमिसुधार तथा मालपोत कार्यालय ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृत मिन बहादुर भट्टराईसँग झण्डै साढे ४ करोड अकुत सम्पत्ति फेला परेको छ।
अख्तित्यार दुरुपयोग अनुसन्धान आयोगले अनुशन्धानका क्रममा भट्टराईले ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ ८६ पैसा गैर कानुनी रूपमा आर्जन गरेको देखिएको हो। अख्तियारले भट्टराई सार्वजनिक सेवामा प्रवेश गरेको मिति २६ साउन ०५४ देखि ३० जेठ ०७९ सम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोही अनुसारको अन्तिम कट अफ मितिको आधारमा समग्र आय तथा व्ययको विश्लेषण गरेको थियो।
सोही आधारमा अख्तियारले भट्टराईविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। सो अवधिमा उनको वैध आय ५ करोड ९४ लाख ६७ हजार १४८ रुपैयाँ १० पैसा देखिएको छ। तर, उनीसँग कुल सम्पत्ति भने १० करोड २३ लाख ९२ हजार २८८ रूपैयाँ १५ पैसा देखिन आएको उनको भनाइ छ।
‘सो सिर्जित आयबाट निजको व्यय घटाउँदा हुन आउने रकम ४ करोड २९ लाख २५ हजार १४० रुपैयाँ ५ पैसा भएतापनि सो अवधिमा स्रोत नखुलेका अवधिका विभिन्न कट अफ मितिमा निजले गरेको खर्च तथा लगानी ४ करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ ८६ पैसाको वैधानिक स्रोत नखुलेको घिमिरेले वताए।
निजको वैध आयको तुलनामा निजको खर्च एवं लगानी सहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक एवं गैर कानुनी सम्पत्ति आर्जन गरेको पाइएकाले मीन बहादुर भट्टराईले साविक भ्रष्टाचार निवारण ऐन २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले बिगो र जरिवाना जफत गर्न माग गर्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
यसैगरी भट्टराईले सार्वजनिक सेवाको पदमा रहेर गैर कानुनी रूपमा आर्जन गरेको श्रोत नखुल्ने सम्पत्ति कान्छी श्रीमती झुना कुमारी कठेतसमेतको नाममा लुकाएको पुष्टि हुन आएको अख्तियारको भनाइ छ । सोहीअनुसार कठेतसमेतलाई प्रतिवादी कायम गरी श्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई हाल कायम रहेको सम्पत्ति मध्येबाट बिगो जफत र जरिवाना गरी पाउन मागदाबी लिएर मुद्दा दायर गरिएको घिमिरेले बताए।