उपहार बेचेको आरोप लागेका इमरान खान दम्पतीलाई १४ वर्ष जेल सजाय

काठमाडौं– पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका दमत्तिलाई नै न्यायालयले १४ वर्षको जेल सजाय तोकेको छ।
नेशनल अकाउन्टाबिलिटी ब्युरो (एनएबी) का न्यायाधीश मोहम्मद बशिरले बुधबार रावलपिण्डीमा खान र उनकी पत्नि बुशरा बिबीलाई १४ वर्ष जेल सजाय सुनाएको हो।
राज्यले प्राप्त गरेका उपहार बेचेको आरोपमा उनीहरूलाई ७८७ मिलियन पाकिस्तानी रुपैयाँ जरिवानासहित जेल सजाय सुनाइएको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ।
अब खान दम्पती १० वर्षसम्म कुनै पनि सरकारी पदका लागि योग्य हुने छैनन्। मंगलबार मात्रै साइफर मुद्दामा एक विशेष अदालतले खान र पूर्वविदेशमन्त्री शाह महमुद कुरेसीलाई १० वर्ष जेल सजाय सुनाएको थियो।
सामान्य भाषामा साइफर भनेको गोप्य तरिकाले प्रस्तुत गरिने सूचना÷सन्देश हो। खान र कुरेसीले राज्यको गोप्य सूचनाको दुरूपयोग गरी चुहाएको आरोप छ।
त्यसअघि राज्यले प्राप्त गरेको उपहार बेचेको मुद्दा (तोशाखाना मुद्दा) मा इस्लामावादको उच्च अदालतले खानलाई ३ वर्ष जेल सजाय सुनाएको थियो।
गत अगष्टमा खानले आफू सत्तामा हुँदा सन् २०१८ देखि २०२२ सम्म ५ लाख १ हजार अमेरिकी डलर बराबरको सरकारी उपहार बेचेको भन्दै उक्त सजाय सुनाइएको थियो। पछि उक्त सजाय स्थगित भए पनि अन्य मुद्दा चलिरहेको हुँदा उनी जेलमै रहेका थिए। हाल उनी अडियाला जेलमा छन्।
पाकिस्तानमा फेब्रुअरी ९ मा आमनिर्वाचन छ। खान अध्यक्ष रहेको पाकिस्तानी तहरिक–इ–इन्साफ पार्टीले पनि निर्वाचनमा भाग लिँदैछ। तर चुनाव नजिकिएसँगै खानविरूद्ध एकपछि अर्को जेल सजाय सुनाइएको हो। उनले प्राप्त गरेको जेल सजायको भुक्तानी कसरी हुन्छ भन्ने यकिन भइसकेको छैन।