बाँसबारी छालाजुत्ता जग्गा हिनामिना प्रकरणमा सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरी पक्राउ

काठमाडौँ — बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ महिनाको अनुशन्धानपछि सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई पक्राउ गरेको छ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यका अनुसार चौधरीलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो। मिलेमतोमा जग्गा हिनामिना गरेको आरोपमा चौधरीसँगै अजितनारायणसिंह थापा पनि पक्राउ परेका छन्।

थापालाई बत्तीसपुतलीस्थित निवासबाट पक्राउ गरिएको हो। उनी बाँसबारी छाला जुत्ता कम्पनीका तत्कालीन अध्यक्ष हुन्।

१० रोपनी जग्गा सीजी रेसिडेन्सीको नाममा नामसारी भएको सूचना पाएपछि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीको नेतृत्वमा ३ सदस्यीय टोलीले अनुसन्धान गरेर प्रमाण संकलन गरेको सीआईबीकी निर्देशक बज्राचार्यले जानकारी दिइन्।

उक्त टोलीले मालपोत कार्यालयमा पुगेर प्रमाणहरु संकलन गर्नुका साथै स्थानीय बासिन्दासँग पनि कुराकानी गरेको थियो। एक चरणको अनुसन्धान सकेपछि बिहीबार व्यवसायी चौधरी र थापालाई पक्राउ गरेको हो।

पहिले बाँसबारी छालाजुत्ता कारखानाको नाममा रहेको सो जग्गा हाल चाँदबाग रिजेन्सी प्रालिको नाममा छ। त्यहाँ चाँदबाग स्कुल सञ्चालन भइरहेको छ। पक्राउ परेका चौधरी चाँदबाग रिजेन्सी प्रालिको सदस्य छन्।

चाँदबाग रिजेन्सी प्रालिका अध्यक्ष सञ्जय ठाकुर पनि सीआईबीको नियन्त्रणमा छन्। पक्राउ परेका दुवैलाई सरकारी वकिल कार्यालय काठमाडौंमा लगिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट