नगरपालिकाको आर्थिक सहयोग लिन फर्जी विवाह, वडाध्यक्षले नै मेयरलाई झुक्याए

रौतहट– रौतहटको मौलापुर नगरपालिकाले आर्थिक अवस्था कमजोर भएका छोरीहरुको विवाहका लागि आर्थिक सहयोग गर्दै आएको छ। ‘असहायके साथ मेयर’ कार्यक्रम अन्तर्गत सुरु भएको यो सहयोगमा पनि किर्ते हुने गरेको खुलेको छ।

मौलापुरकी मेयर रिनाकुमारी साहको पहलमा सुरु भएको यो योजनामा विवाहका लागि ३० हजार रुपैयाँ दिने गरिएको छ। यो योजना लामो समयदेखि कार्यान्वयनमा छ। धेरैले यसको लाभ पनि लिएका छन्।

तर, वडा नं. ९ मा भने किर्ते गरेर पैसा लिने प्रयास गरिएको मेयरले नै खुलासा गरेकी छिन्। जसमा वडाध्यक्षकै मिलेमतो देखिएको छ। वडा अध्यक्ष श्यामकिशोर साहले १८ पुसमा स्थानीय महिन्द्रराय यादवकी छोरी सञ्जुकुमारीको विवाह हुने भएकाले पालिकाको निर्णयअनुसार अनुदान सहयोग उपलब्ध गराइदिन सिफारिस गरेका थिए।

२५ माघमा सञ्जुको विवाह रौतहटको बृन्दावन नगरपालिका बौहरी निवासी ब्रह्मदेव राय यादवको छोरा रामविश्वासकुमारसँग भइरहेकाले पालिकाबाट दिइँदै आएको ३० हजार सहयोग उपलब्ध गराउन माग गरिएको थियो। सिफारिससँगै वेहुला र वेहुलीको नामसहितको विवाहको निम्ता कार्डसमेत समावेश गरिएको छ।

वडाअध्यक्ष सिफारिसका आधारमा पालिकाको पैसा दिने निर्णय गर्यो। सञ्जुकी आमा पुनकलियादेवीको नाममा ३० हजार रुपैयाँको चेक पनि काटियो। चेक लिएर मेयर साह आफै महिन्द्रको घरमा पुगिन्। उनको घरको अवस्था देखेर भने मेयरलाई आश्चर्य लाग्यो।

घरमा विवाहको कुनै तयारी थिएन। त्यसपछि उनले चेक महेन्द्रलाई नदिई नगरपालिकामै फर्काइन्। त्यसपछि यो विषय सार्वजनिक भयो। वडाअध्यक्षले फर्जी विवाहको सिफारिस गरी नगरपालिकाले उपलब्ध गराउँदै आएको आर्थिक सहयोग खान खोजेपछि भन्दै अहिले स्थानीयले विरोध गरेका छन्। उनीहरुले वडाअध्यक्ष साहलाई कारवाहीको मागसमेत गरेका छन्।

सर्वसधारण गरिव परिवारलाई नगरपालिकाले गर्दै आएको सहयोग रकम हिनामिना गर्न फर्जी सिफारिस गर्ने वडाअध्यक्षलाई कडा कारवाही हुनुपर्ने माग स्थानीयले गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *