लुटेरा समुहद्वारा परिवारका सदस्यलाई नियन्त्रणमा लिई १३ वर्षिया बालिका बलात्कार

जनकपुर — महोत्तरीको सम्सी गाउँपालिका–२ पर्सामा लुटपाट गर्न आएको अज्ञात समुहले मंगलबार राती १३ वर्षिया बालिकालाई नियन्त्रणमा लिई बलात्कार गरेको खुलेको छ।
महोत्तरीकै सोनमा घर भई मामा घरमा बस्दै आएकी ति बालिकालाई लुटेराहरूले घरबाट १ किलोमिटर दूरीमा रहेको खेतमा लगेर बलात्कार गरेका थिए। सम्सी गाउँपालिका–१ का वडाध्यक्ष विपिन बिहारीका अनुसार बालिका बोल्न नसक्ने आमा र हजुरआमासँग बस्दै आएकी थिईन।
चार जनाको समुहमा आएको लुटेरा समुहले राति घरमा लुटपाट गरेपछि आमा र हजुरआमालाई घरमा थुनेर बालिकालाई लिएर गएका थिए। बालिकाका अनुसार उनीहरुले खेतमा लगेर बलात्कार गरेको खुलेको छ।
उनकै बयानका आधारमा प्रहरीले केही व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। आमा बोल्न नसक्ने र बालिका डराएका कारण मंगलबार राति भएको घटना बुधबार साँझ मात्रै सार्वजनिक भएको थियो प्रहरीले जनाएको छ। घटना सार्वजनिक भएपछि बलात्कृत बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ।
लुटेराहरूले स्थानीय सुरेन्द्र चौधरीको घरबाट १० हजार रुपैयाँ लुटपाट गरेका थिए। जिल्ला प्रहरी कार्यालय महोतरीका एसपी प्रकाश मल्लले बालिका बलात्कार घटनाको अनुसन्धान भइरहेको बताएका छन्।