बालकुमारी घट्नालाई प्रधानमन्त्रीले नै ‘हत्या’ भनेपछि सदनमा एमालेको टार्गेटमा परे २ मन्त्री

काठमाडौं– ईपीएस परीक्षा विवादमा गोली चल्दा दुई युवाको ज्यान गएको घटनालाई प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमै ‘हत्या’ भएको भनेपछि दुई जना मन्त्रीको पद धरापमा परेको छ। उक्त घट्नामा प्रत्यक्ष जोडिएका मन्त्री नारायणकाजी श्रेष्ठ र प्रकाश ज्वालाको पद धरापमा परेको हो।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबारको संसद बैठकमा श्रेष्ठ र ज्वालासहित ४ जनाको राजिनामा मागेको छ। यही विषयमा संसद वैठकसमेत अवरुद्ध भएको छ। एमाले सांसद योगेश भट्टराईले गृहमन्त्री श्रेष्ठ, भौतिक योजना मन्त्री ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा मागे।
बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालाको राजीनामा माग्दै सो घटनाबारे भएको छानबिनको प्रतिवेदन संसदमा पेस गर्न उनले माग गरेका छन्। सरकारी छानबिन समितिले नै मन्त्री ज्वालासहित सुरक्षाकर्मीको लापरबाहीका कारण सो घटना घटेको निष्कर्षसहित प्रतिवेदन बुझाइसकेको छ। तर, सरकारले न प्रतिवेदन कार्यान्वयनमा लगेको छ न त सार्वजनिकै गरेका छ।
ईपीएस परीक्षा विवादमा गोली चल्दा दुई युवाको ज्यान गएको घटनालाई प्रधानमन्त्री दाहालले सदनमै ‘हत्या’ भनेकाले गृहमन्त्री श्रेष्ठले समेत नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भट्टराईको माग छ।
दाहालले आइतबार प्रतिनिधिसभाका सांसदहरूसँग प्रत्यक्ष प्रश्नोत्तरमा सहभागी हुँदै बालकुमारी घटनामा दुई युवाको हत्या भएको स्वीकार गरेका थिए। उनले घटनामा ज्यान गएका युवाका विषयमा ‘दुई युवाको हत्या भएको’ शब्द प्रयोग गरेको विषय कोट्याउँदै मन्त्री श्रेष्ठ र ज्वालाको राजिनामा मागेका हुन।
यस्तै, स्वास्थ्य सामाग्री र उपकरण लगायतको खरिदमा भइरहेको अनियमितता तथा टेरामक्स खरिदको प्रसङ्ग जोडेर मन्त्री बस्नेतको भट्टराईले राजीनामा मागेका हुन्। अख्तियारले छानबिनको दायरामा राखेर बयान लिएको व्यक्ति मन्त्री पदमा रहिरहन योग्य नहुने उनको तर्क थियो।
विश्व बैंकको ऋण सहयोग र सरकारी बजेटमा भइरहेका साढे दुई अर्ब बढीको खरिदमा निश्चित समूहसँग मिलेर स्वास्थ्य सेवा विभागका कर्मचारी समेतको मिलेमतोमा अनियमितता भइरहेकोबारे श्रृंखलाबद्ध प्रमाणसहित समाचार प्रकाशन भईरहेका छन्।
भट्टराईले लुम्बिनी विकास कोषका विवादित सदस्यसचिव ल्यारक्याल लामाको बदनियतपूर्ण गतिविधिलाई कारण देखाउँदै पर्यटनमन्त्री सुदन किराँतीको समेत राजीनामा मागेका थिए।
पछिल्लो समय ल्यारक्याल लामाले गौतम बुद्धको अस्तु धातु भएको रामग्राम प्राइभेट कम्पनीलाई ९९ वर्षसम्मलाई भाडामा दिने प्रक्रिया अगाडि बढाएर विवादमा आएका थिए। सो निर्णयमा मन्त्री किराँतीसमेत संलग्न रहेको दाबीसहित भट्टराईले उनको समेत राजीनामा मागेका हुन्।