शौचालयमा लुकेर महिलाको अश्लील फोटो खिचेको आरोप लागेका डीएसपी २५ हजार धरौटीमा छुटे
काठमाडौं– स्वयम्भु स्थित न्यू इभेन्ट पोइन्ट रेष्टुरेन्टको शौचालय गएकी महिलाको अश्लील तस्वीर खिचेको आरोपमा पक्राउ परेका सशस्त्र प्रहरीका डीएसपी तुलसिंह केसी धरौटीमा छुटेका छन्।
काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनी सोमवार नै धरौटी बुझाएर हिरासतमुक्त भएका छन्।
पोखरास्थित नम्बर–४ बाहिनीमा कार्यरत केसीले ५ माघको राति करिव साढे ९ बजे शौचालयमा गएकी महिलाको अश्लील फोटो खिचेको भन्दै जाहेरी परेको थियो। ती महिला शौच गर्न बसेका बेला केसीले शौचालयको पर्खालमाथिबाट अश्लील तस्वीर खिचेका उजुरीमा उल्लेख छ।
पक्राउ परेपछि प्रहरी नियन्त्रणमा रहेकै बेला ‘फेसबुक डिएक्टिभ’ गर्न भन्दै मोबाइल मागेर उनले फम्र्याट गरेको समेत अनुसन्धानका क्रममा देखिएको थियो।
केसीले ८ फागुनको बेलुका श्रीमतीको नम्बर निकाल्नु प¥यो भन्दै प्रहरीलाई भनेका थिए। उनले आफपुले गरेको गल्तीबारे विभिन्न पत्रपत्रिकामा आइसकेको र फेसबुकबाट आफु तथा परिवारको फोटो मिडियामा पुग्न सक्ने भन्दै फेसबुक प्रोफाइल डिएक्टिभेट गर्ने पनि वताएका थिए।
डीएसपी भएकाले विश्वास गरेर मोबाइल दिँदा उनले बरामद भएको मोबाइलको सम्पूर्ण डाटा तथा प्रमाणहरु नष्ट गर्ने मनसायले बदनियतपूर्वक मोबाइल फर्म्याट गरेको एक प्रहरीले जानकारी दिए। उनको मोबाइल डाटा रिकभरीका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाईएको छ।
केसीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को अश्लील किताब, पर्चा इत्यादी बनाउन वा बिक्री गर्न नहुने कसुरमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको छ।