धरानमा विमानस्थल बनाउन असम्भव भनेपछि हर्क साम्पाङको आक्रोशः ‘तेरो नियमावली, थु…’

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नहुने जनाएपछि धराने मेयर हर्क साम्पाङ आक्रोशित भएका छन्।
साम्पाङ्ले बारम्बार धरानमा विमानस्थल बनाउँने दाबी गर्दै आएपछि उक्त स्थानमा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि प्राधिकरणले समिति गठन गरेको थियो। साम्पाङले काठमाडौँ पुगेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई विमानस्थल बनाउन आग्रह पनि गरेका थिए।
साम्पाङको आग्रहमा मन्त्री किरातीले नागरिक उड्डयन प्राधिकरणलाई उक्त स्थानमा विमानस्थल बनाउनका लागि सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएका थिए। मन्त्रीको निर्देशनपछि अध्ययन गर्न गठित समितिले धरानमा विमानस्थल बनाउनु नीतिगत र प्राविधिक विषयले सम्भव नहुने निष्कर्ष निकालेको छ।
उक्त समितिले हवाई नीति, २०६३ अनुसार धरानमा विमानस्थल बनाउन सम्भव नहुने देखाएको छ। उक्त नितिमा तराई तथा भित्री मधेशमा विमानस्थल बनाउँदा नजिकको विमानस्थलको दुरीबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने उल्लेख छ। तर धरानबाट विराटनगर करिब २३ नटिकल माइलको दूरीमा भएकाले धरानमा विमानस्थल बनाउन सम्भव नहुने निष्कर्ष निकालेको हो। त्यतै प्राधिकरणले धरानमा हवाई सेवा दीर्घकालीन र व्यावसायिक नहुने पनि बताएको छ।
प्राधिकरणको निष्कर्षसँगै धरानका मेयर हर्क साम्पाङले सामाजिक संजाल फेसबुकबाटै प्राधिकरणलाई चुनौती दिएका छन्। उनले प्राधिकरणले रोकेपनि धरानमा विमानस्थल बनाएरै छोड्ने अराजक अभिव्यक्ति दिएका छन्। उनले भनेका छन्, ‘तेरो नियम संशोधन गरेर भए पनि विमान स्थल बनाउनेछौँ ! ज्यादा नखोक् ! संविधान त परिवर्तन हुन्छ भने त्यो नाथे तेरो नियमावली ? थु…’