१२ वर्षीय छोराको हत्या आशंकामा बाबुआमा पक्राउ, खाल्टो खनेर निकालियो शव

जनकपुर– वीरगञ्ज महानगरपालिका–१२ मुर्लीका एक दम्पत्ति आफनै १२ वर्षीय छोराको हत्या गरेको आशंकामा पक्राउ परेका छन्। प्रहरीले बालकका बुबा शम्भु महतो धानुक र आमा सबितालाई सोधपुछका लागि पक्राउ गरेको छ।

वीरगञ्ज –१३ राधेमाई नजिकको सिर्सिया नदि छेउबाट प्रहरीले १२ वर्षीय दिलीप मण्डल धानुकको शव बरामद गरेको थियो। खाल्डो खनेर गाडेको ठाउँबाट शव निकालिएको पर्साका डीएसपी कुमारविक्रम थापाले बताए।

छिमेकीलाई समेत खबर नगरी शव गाडेको पाईएपछि घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ। वडा प्रहरी कार्यालय श्रीपुर र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले गाडेको ठाउँबाट शव निकालेको थापाले बताए।

शम्भुले बताए अनुसार दिलीप लागूपदार्थको कुलतमा फसेका थिए। लागु पदार्थ खरिद गर्न अरूको घरमा पसेर सामानसमेत चोर्न थालेपछि उनीहरु हैरान थिए। त्यसैले घर वाहिर निस्कनु पर्दा उनलाई कोठामा थुन्ने गरिएको थियो।

ज्याला मजदुरी गर्ने शम्भु र सविताले बिहीबार पनि दिलिपलाई घरको एउटा कोठामा थुनेर काममा निस्किएका थिए। कामबाट फर्किदा दिलीप कोठामै मृत अवस्थामा भेटिएपछि डरले कसैलाई थाह नदिई गाडेको शम्भुले स्विकार गरेका छन्।

अटोरिक्सामा शव राखेर घाटमा लगेर गाडेको उनको भनाई छ। दिलीपको शव पोस्टमार्टमका लागि अहिले वीरगन्जस्थित नारायणी अस्पतालमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र बालकको मृत्युको यकिन कारण खुल्ने र त्यसको आधारमा कारवाही प्रकृया अगाडि वढ्ने डीएसपी थापाले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट