नगरको पैसामा जनप्रतिनिधि–कर्मचारीको मोज, क्षमता विकासका नाममा कोशी किनारमा वनभोज

फत्तेपुर (सप्तरी)– नेपालमा नागरिकलाई सेवा दिन बनेका जुनसुकै निकायमा भ्रष्टाचार र अनियमिता नौलो कुरा रहेन। लुकाएर गर्ने र सहीछाप गर्नु नपर्ने भएकाले यसका प्रमाण सायदै भेटिन्छन। तर, अपवाद वाहेक भ्रष्टाचारमा संलग्न नभएका निकाय भेट्न मुस्किल छ। भ्रष्टाचार हाम्रो देशका लागि ‘ओपन सेक्रेट’ जस्तै हो।

तर, सप्तरीको सप्तकोशी नगरपालिकाले भने भ्रष्टाचार र अनियमितताका सवै हद पार गरेको छ। जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा जनताको राजश्वबाट उठेको पैसा खुलेआम अनियमित तरिकाले खर्च गरेको भेटिएको छ। जनप्रतिनिधि र कर्मचारीहरु नगरकै बजेटबाट शनिवार पिकनिक गए। सुनसरीको चतरास्थित कोशी किनारमा गएर मोजमस्ती गरे। अनि नाम दिए– क्षमता अभिवृद्धि तालिम।

पिकनिकका फोटो तथा भिडिओ उनीहरुले नै सामाजिक सञ्जालमा हाले। त्यसपछि आलोचना सुरु भयो। अहिले कतिपय फोटो र भिडिओ सामाजिक सञ्जालबाट हटाईएको छ। सर्वसाधारणले यसलाई अपराधको रुपमा ब्याख्या गरेका छन्। उनीहरु भन्छन्–‘पिकिनिक भनेरै पैसा खर्च गरेको भए वरु सामान्य रुपमा लिन सकिन्थ्यो। तर, कार्यक्रमका नाममा पैसा उडाउनु अपराध हो।’

उनीहरुका अनुसार सामान्य तरिकाले वुझ्दा लुकाएर खान सकिने ठाउँ सवै सकिएपछि लाज पचाएर जनप्रतिनिधि र कर्मचारी यो स्तरमा झरेका हुन। यो कार्यक्रमलाई हेरेर ‘नगरमा अनियमितता र भ्रष्टाचार कुन स्तरमा छ’ भनेर अनुमान लगाउन सकिने सर्वसाधारण बताउँछन्।

जानकारी अनुसार पिकनिकका डिजाईनर मेयर कृष्णप्रसाद ढकाल र प्रमुख प्रशासकीय अधिकृत रामदेव चौधरी हुन। एक कर्मचारीका अनुसार यो कार्यक्रम अपर्झट रुपमा आयोजना गरिएको हो। ‘अघिल्लो कार्यपालिका वैठक र नगरसभामा पनि कतै जाउँ, एउटा किसिमको कार्यक्रम राखौं भन्ने छलफल भए बमोजिम यो कार्यक्रम राखिएको हो’ ती कर्मचारीले भने–‘यो कार्यक्रम क्षमता अभिवृद्धि, भेटघाट र रिफ्रेसमेन्टका लागि वनाईएको हो। कार्यक्रमको संयोजन हाकिमसावले गर्नु भएको हो।’

विहिबार भएको सामान्य छलफलमा हौसिएका कर्मचारीहरुले शुक्रबार ११ वटै वडाका जनप्रतिनिधि, शिक्षा, स्वास्थ्य, भेटनरीका कर्मचारीलगायतलाई खवर गरेर सोही दिन आवश्यक तयारी गरी शनिवारका लागि कार्यक्रम बनाएको खुलेको छ।

यस विषयमा वुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत चौधरीले फोन उठाएनन्। मेयर ढकालले भने पिकनिकनै आयोजना भएको बताए। उनले ‘खर्च कहाँबाट भएको हो भन्ने आफुलाई एकिन नभएपनि कर्मचारीहरुले उठाएका होलान’ भने। ‘एकिन मलाई पनि जानकारी छैन, रामदेव सरलाई वुझेर खवर गर्छु’– ढकालले भने।

र, यो पनि


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट