एउटाले गरेको अपराधमा अर्कैलाई पक्राउ, २० वर्ष कैद बस्नबाट यसरी जोगिए कृष्णवहादुर

काठमाडौँ– नेपाल प्रहरीले कहिलेकाही अपराध अनुशन्धानका नाममा गलत ब्यक्तिलाई पक्राउ गर्छ। कोही शंकास्पद अवस्थाका कारण पक्राउ पर्छन भने कतिपय अवस्थामा भने नियोजित रुपमा गलत ब्यक्तिलाई पक्राउ गर्ने र अनुशन्धानका नाममा लामो समय हिरासतमा राखेर सक्दो टर्चर गरेपछि रिहा गर्ने गरिएका उदाहरण प्रशस्तै छन्।

तर, सिन्धुपाल्चोकमा भने प्रहरीले एउटा ब्यक्तिको नाममा अर्कैलाई पक्राउ गरी २० वर्ष कैद गर्न खोजेको घट्ना सार्वजनिक भएको छ। प्रहरीको यो योजना सर्वोच्च अदालतका कारण असफल भएको छ।

जानकारी अनुसार सिन्धुपाल्चोक जिल्ला अदालतले ३८ वर्षअघिको मानव बेचबिखन मुद्दामा प्रतिवादी काले सार्कीलाई दोषी ठहर गरी २० वर्ष कैद सजाय तोकेको थियो। १२ जेठ ०४२ मा अन्तिम फैसला हुँदा काले सार्की दोषी ठहर भएका थिए। अदालतले काले सार्की भनिने व्यक्ति नै कृष्णबहादुर सार्की भएको ठहरसमेत गरेको थियो।

तर, काले सार्की भने फरार थिए। अदालतले पुराना फैसला कार्यान्वयनका लागि ताकेता गरेपछि प्रहरीले काले सार्की भन्दै ११ फागुनमा सिन्धुपाल्चोकका ७३ वर्षीय कृष्णबहादुर सार्कीलाई पक्राउ गर्यो। प्रहरीले पक्राउ गरेपछि उनको नागरिक्ता जाँच गरियो। नागरिकता जाँच्दा उनी काले नभई कृष्णबहादुर सार्की भन्ने प्रमाणित भयो। तर, प्रहरीले उनलाई छोड्न मानेन। त्यसपछि उनको रिहाईका लागि छोरा अम्बरबहादुर पुर्कुटीले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरे।

पक्राउ परेको एक महिना ९ दिनपछि सर्वोच्चले कृष्णबहादुरलाई झिकायो। सिन्धुपाल्चोक कारागारले सोमबार उनलाई प्रहरीको साथ लगाएर सर्वोच्च अदालत पठायो। न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र महेश शर्मा पौडेलको संयुक्त इजलाशमा अधिवक्ता कमल कोइरालाले ‘कसरी प्रहरीले निर्दोष वृद्धलाई शंकाका भरमा पक्राउ गरे’ भनेर बहस गरे।

जीवनमा एकैपल्ट ३५ वर्षअघि आमा पुतली सार्की बितेको वर्ष पशुपतिमा सद्विउ छर्न आएका बेला बाहेक गाउँ छोडेर कतै नगएका कृष्णबहादुरले भने वकिलको वहस निशब्द सुनिरहे। वहस सुनिसकेपछि ‘एकजनाले गरेको अपराधमा अर्कैलाई सजाय’ तोकिएको फैसलालाई सर्वोच्चले उल्ट्याइदिएको छ।

मानव बेचबिखनको मुद्दामा जिल्ला अदालत सिन्धुपाल्चोकले २० वर्ष कैद सजाय तोक्दै दिएको आदेशलाई गैरकानुनी ठहर गर्दै सर्वोच्चले सोमबार बदर गरिदिएको हो। ‘मानिसको पहिचान नै नगरी काले सार्कीको नामको कैदमा अर्कै व्यक्ति अर्थात मेरो बुबालाई पक्राउ गरी कैदीपुर्जी दिई थुनामा राखेको हुँदा बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरी पाऊँ भनी बन्दीको छोराले प्रस्तुत निवेदन दिएको देखियो’, सर्वोच्चले भनेको छ, ‘यी निवेदक बन्दीलाई ठहर भएको भनिएको मानव बेचबिखन मुद्दाको मिसिल अध्ययन गर्दा, प्रहरी प्रतिवेदनमा काले सार्कीविरुद्ध अभियोजन गरिएको देखिन्छ। काले सार्की भन्ने कृष्ण बहादुर सार्की भन्ने उक्त मुद्दाको अनुसन्धान हुँदादेखि सर्वोच्च अदालतबाट फैसला हुँदासम्म कुनै पनि कागजातबाट खुल्न आएको वा देखिएको अवस्था छैन।’

सर्वोच्चले मानव बेचबिखन मुद्दामा कसुर कायम भई सजाय पाएका काले सार्की र हाल त्यही काले सार्की भनेर थुनामा रहेका निवेदक बन्दी कृष्णबहादुर सार्की एकै व्यक्ति हुन् भन्ने प्रमाणबाट पुष्टि हुन नआएको उल्लेख गरेको छ। सर्वोच्चले नागरिकताबाट पनि काले र कृष्ण एकै भएको पुष्टि नभएको जनाएको छ।

सर्वोच्चले कैद ठहर भएको भनिएका व्यक्तिको स्पष्ट रूपमा पहिचान र एकिन नभएको अवस्थामा शंका र अनुमानका आधारमा कुनै अर्को व्यक्तिलाई थुनामा राख्ने कार्यले व्यक्तिको वैयक्तिक स्वतन्त्रतामा आघात पार्नेतर्फ पनि सचेत गराएको छ।

सर्वोच्चले कृष्णबहादुरलाई रजिस्ट्रारको रोहबरमा छाडेर छोरा अम्बरको जिम्मा लगाउन आदेश दिएपछि उनी रिहा भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट