विकास गर्न नदिएको भन्दै प्रमुख प्रशासकीय अधिकृतले पत्रकारलाई दिए गोली हान्ने धम्की

लहान– सिराहाको एउटा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) ले विकास निर्माणका काम गर्न नदिएको भन्दै पत्रकारलाई गोली हानेर २० वर्ष जेल वस्ने धम्की दिएका छन्।

गोलबजार नगरपालिकाका प्रशासकीय अधिकृत श्रीधर केसीले पत्रकार अर्जुन थपलियालाई गोली हानेर मार्ने धम्की दिएका हुन। नगरपालिकामा भएको अनियमितताको समाचार लेखेको निहुँमा केसीले आफूलाई मार्ने धम्की दिएको पत्रकार थपलियाले बताए।

गोलबजार नगरपालिका–२ निवासी थपलिया दावानल अनलाइनका कार्यकारी सम्पादक हुन्। आफूलाई गोली हानेर मार्ने भनेर केसीले दिएको धम्कीको अडिओ सम्वादसमेत पत्रकार थपलियाले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।

जसमा उपसचिवि केसीले पटक–पटक अश्लील शब्द बोल्दै पत्रकार थपलियाको हत्या गर्ने धम्की दिएको सुन्न सकिन्छ। ‘तपाईं कहाँ हुनुहुन्छ म त्यही आउँछु। तपाईंलाई गोली हानेर मार्छु अनि २० वर्ष जेल बस्छु,’ उपसचिव केसीले फोनमा भनेका छन्, ‘मेरो पछाडि तपाईं लाग्नु छाड्नु भएन भने तपाईंको पछि म लाग्छु। यो तपाईंलाई मेरो धम्की भयो।’

थपलियालाई थर्काउने क्रममा उनले आफुलाई प्रधानमन्त्री बनाए देश कसरी चलाउनु पर्छ भनेर देखाई दिने समेत भन्न भ्याएका छन्। ‘लोकतन्त्रको कुरा छोड्नुस् न मलाइ बनाउनुस् प्रधानमन्त्री ल कसरी चलाउनु पर्छ प्रधानमन्त्री मलाई थाहा छ। हावा कुरा नगर्नुस् है तपाईँ।’

पछिल्लो समय भने उनले रिसको आवेगमा त्यस्तो वोलेको वताएका छन्। ‘मैले रिस उठेर अति भएपछि गोली हानेर जेल बस्छु भनेकै हो। तर, यो केबल रिसको बोली हो। म पालिकाको कर्मचारीसँग बन्दुक कहाँ हुन्छ र गोली हान्नु’ उनले भने–‘अर्जुनजीलाई पटकपटक हावादारी सूचना प्रवाह नगर्न आग्रह गर्दा पनि उहाँ मान्नु हुन्न कहिले मेयर श्यामलाई जेल हाल्छु भन्छ, कहिले माननीय लिलानाथ श्रेष्ठलाई जेल हाल्छु भन्छ। जोसुकैलाई जेसुकै गरुन् तर तथ्यभन्दा फरक सूचना प्रवाह गरेर काम गर्ने वातावरण नबिथोलिदिन मैले उहाँलाई पटकपटक आग्रह गरेको छु। कानुन मलाई पनि थाहा छ म कानुनभन्दा माथि हुँदै होइन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट