ब्यक्तिगत मन्दिरमा छिर्न वाटो नै नभएको ठाउँमा ६ लाखको गेट

राजविराज– गोरखाको गोरखा नगरपालिका–३ नारेश्वर र सिरानचोक गाउँपालिका–५ जरेबर जोड्ने दरौदी नदीमाथि बनेको ५ करोड ३९ लाखको पुलले गत साउनमा निकै चर्चा पायो। यो पुलले चर्चा पाउनुको कारण थियो– सडक।

गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले विनियोजन गरेको रकमबाट बनेको सो पुल पुग्न कुनै सडक नै थिएन। पछि अनुशन्धानका क्रममा थाहा भयो– पूर्व भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले आफनो खेतमा पुग्नका लागि उक्त पुल वनाएका रहेछन्।

सप्तरीको सप्तकोशी नगरपालिकामा पनि अहिले यस्तै एउटा विकास भएको छ। सप्तकोशी नगरपालिका वडा नं. १ ले सडकनै नभएको ठाउँमा ६ लाखको गेट वनाईरहेको छ। वडा अध्यक्ष रोहिणीप्रसाद पोखरेलको योजनामा गेट निर्माणको काम सुरु भएको हो।

पोखरेलले स्थानीय रक्तमाला देवीको मन्दिर पुग्ने बाटोका लागि उक्त गेट निर्माण गराएका हुन। योजना अनुसार ३ लाख रुपैयाँ खर्च गरेर गेटको संरचना तयार गरिएको छ। रङ्गरोगन र अन्य कामका लागि थप ३ लाख रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए।

आश्चर्यको कुरा चै के छ भने जुन मन्दिरका लागि भनेर गेटमा ६ लाख रुपैयाँ खर्च गरिएको छ, त्यो मन्दिर नै अहिलेसम्म ब्यक्तिगत जग्गामा रहेको निर्माण समितिका एक सदस्यले वताए । अर्कोतर्फ मन्दिरसम्म पुग्ने वाटो समेत छैन। स्थानीयका अनुसार चलनचल्तीमा रहेको बाटो पनि ब्यक्तिका नाममा छ।

यसरी बाटो र मन्दिरकै ठेगान नभएको ठाउँमा नागरिकको पैसा खन्याएको भन्दै कतिपयले असन्तुष्टि ब्यक्त गरिरहेका छन्। नागरिकको करबाट उठाएको पैसा जथाभावी खर्च गरेर वडाध्यक्षले अख्तियारको दुरुपयोग गरेको उनीहरुको गुनासो छ। पोखरेलले कमिशनका लागि वजेट सक्ने नियतले गेटमा पैसा खन्याएको स्थानीयले आरोपसमेत लगाएका छन्। तर, वडाध्यक्षसहित जनप्रतिनिधिलाई भने यो असन्तुष्टि र आरोपले कुनै फरक परेको छैन।

वडाध्यक्ष पोखरेलले आफुले ‘रक्तमाला प्रवेश द्वार’ निर्माण गर्न गत वर्ष ३ लाख र यस वर्ष ३ लाख गरी ६ लाख रुपैयाँ छुट्याएको बताउँछन्। उनले मन्दिर रहेको जग्गा ब्यक्तिको भएको विषमा आफुलाई जानकारी नभएको भन्दै सार्वजनिक बाटो पनि नभएको स्विकारे। परापुर्व कालदेखि रक्तमालादेवीको महिमा सुन्दै आएको र त्यसलाई अझ प्रचार प्रसार गर्नका लागि गेट निर्माणको काम थालिएको उनको भनाई छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट