सहकारीको डेढ अर्ब ठगेर भागेका ढोरपाटनका मेयर देवकुमारका दम्पत्तिलाई किन पक्राउ गर्दैन प्रहरी ?

काठमाडौं– इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको झण्डै डेढ अर्ब ठगेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली करिव १ वर्षदेखि श्रीमतीसहित फरार छन्। प्रहरीले इन्टरपोलमार्फत रेड नोटिस जारी गराउँदा समेत उनीहरुको सुँईको पाएको छैन।

सहकारीको अध्यक्ष समेत रहेका देवकुमार र श्रीमती छेला नेपाली विदेश भागेको आशंकामा २४ जनवरी २०२४ (१० माघ २०८०) मा उनीहरु विरुद्ध रेड नोटिस जारी भएको थियो। मेयर नेपालीसहितले ठगी गरेको भन्दै १ हजार ५७३ जना वचतकर्ताले १ अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ दावी गर्दै जिल्ला प्रहरी कार्यालय बाग्लुङमा जाहेरी दिएका छन्।

अध्यक्षसहित दर्जनवढि ब्यक्तिविरुद्ध सहकारी ठगीको मुद्दा दायर भएकोमा हालसम्म ६ जना पक्राउ परेका छन् भने अन्य फरार छन्। सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनार, सञ्चालक चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढा मगर पक्राउ परेका छन्। उनीहरू पुर्पक्षका लागि थुनामा छन्।

देवकुमार, छेला, लालमती रोका, प्रबन्धक शक्ति किसान, उपाध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, सञ्चालक समिति सदस्य रुपा बिक, सदस्य झगबहादुर शाही, गलकोट शाखा प्रबन्धक अनिल नेपाली, बुर्तिबाङका लेखा प्रमुख अनिता बुढा र ओमप्रसाद दर्जी फरार छन्।

उनीहरु विरुद्ध बागलुङ नगरपालिका २ स्थित हल्लन चोकमा मुख्य कार्यालय रहेको इमेज सहकारीको बुर्तिबाङ र गलकोटमा सेवा केन्द्रको बचत रकम हिनामिना गरेको आरोप छ। आकर्षक ब्याजदरको प्रलोभनमा बचत वढाएर नियमकानुन विपरीत खर्च गरेको आरोप छ।

सहकारीकी लेखा प्रमुख लालमती रोकाले सहकारीबाट कर्जा प्रवाह गर्दा कुनै धितोबिनै दिने गरेको खुलाएकी छिन्। यसको अनुशन्धान सुरु भएपछि देवकुमार राति २ बजे सहकारीमा पुगेर कार्यालयको दराज फोडी ३ वटा फाइल बोकेर फरार भएका थिए भने त्यसको सीसीटीभी फुटेज पनि कर्मचारी मार्फत डिलिट गराएको खुलेको छ।

देवकुमारले सहकारीको नाममा खरिद गरेको जग्गा कर्मचारीको नाममा पास गराएको पाइएको छ। लेखाप्रमुख रोकाले सहकारीबाट ऋण लिएर तिर्न नसकेकी धना रोकाको जग्गा आफ्नो नाममा पास गरिदिएको बयान दिएकी छन्। कृत्रिम कर्जा खडा गरेर देवकुमारले रकम लिएको पनि पाइएको छ।

प्रहरी अनुसार कृत्रिम व्यक्तिलाई सदस्यता प्रदान गरेर ८७ लाख ५० हजार रुपैयाँ दायित्व देखाएर बचत हिनामिना गरेको अभियोग पत्रमा उल्लेख छ। यस्तै राष्ट्रिय सहकारी बैंकबाट लिएको ऋणको रकम चुक्ता गरिएको भनिएकोमा १ करोड ११ लाख २९ हजार २६५ रुपैयाँ ५६ पैसा दायित्व कम देखाएर हिनामिना गरेको भेटिएको छ।

सदस्य तथा गैरसेयर सदस्यहरूबाट दाखिला भएको रकम पनि कृत्रिम बचत खाताहरूमा राखी ६५ करोड २७ लाख ७० हजार ६४२ रुपैयाँ नियमविपरीतको काममा प्रयोग गरिएको छ। कृत्रिम खाताहरूमा ब्याजबापत बढाइएको रकमको कट्टा गर्नु पर्ने ५ प्रतिशत रकम ६२ लाख ८१ हजार २२८ रुपैया र अन्य भुक्तानी दिनु पर्ने कर दायित्वका खाताहरूमा भएको रकम समेत गरी एक करोड ९२ लाख ७६ हजार ८२६ रुपैयाँ राजस्व छली पनि गरेको पाइएको छ।

कृत्रिम नाफा नोक्सान खाता खडा गरी संस्थाको नाफा घटाई ३ करोड ३९ लाख ५६ हजार ९४ रुपैयाँ हिनामिना गरेको, खातामा हुनु पर्ने ४ करोड ८१ लाख ५४ हजार ६९४ रुपैयाँ पनि हिनामिना गरेको अनुसन्धानको निष्कर्ष छ।

बैंक मौज्दातको रकममा ४ करोड ९९ लाख ८ हजार ९१३ रुपैयाँ, २०७० असोज २४ गतेदेखि २०७९ चैत २९ गतेसम्म तयार गरिएको कृत्रिम कर्जा एक अर्ब ३ करोड ८३ लाख ९६ हजार ६६८ रुपैयाँमध्ये ४८ करोड ५१ लाख ८९ हजार ८७८ रुपैयाँभन्दा बढी हिनामिना भएको बताइएको छ।

संस्थालाई सम्पत्ति बेचेको भनी कृत्रिम बचत खातामा ३० करोड जम्मा गरी नभएको सम्पत्ति देखाई बचत रकम तथा सहकारीको सम्पत्ति हिनामिना गरेको पाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट